Tuesday, October 6, 2020

थामखर्के हजुरवुवा - रामेश्वर प्रसाद दाहाल

        

रामेश्वर प्रसाद दाहाल

        थामखर्क भन्ने शब्द कसरी रह्यो त्यतातिर म गइन । त्यो गाउँलाई चारै तिरवाट जंगलले घेरिएको थियो । त्यसको विच टुप्पोमा समथर भू–भाग थियो । पामिरलाई विश्वको छाना भने झै थामखर्कलाई पनि ठानागाउँको छानो भने फरक पर्दैन थियो । उत्तर हिमालको दृश्य, कोसीको नागवेली स्वरुप र उदयपुरका महाभारतको श्रृङ्खला एवं लेकाली डाँडा जस्तै ओख्ले, राउतखर्क, भालेबास, कमेटे, डाँडाको मनोरम दृश्य अवलोकन गर्न सकिन्थ्यो । त्यहाँको चिसो उर्जाले शारिरिक उर्जा थपिन्थ्यो । 

म शिक्षक परिचय बोकेर थामखर्क गएको थिएँ  । रहँदा वस्दा उहाँको घरमा बसोबास गर्न पुगें । हजुरवुवाको घर बाहेक  पाँच घरको बसोबास थियो थामखर्कमा । मूलघर भनेको हजुरबुवाकै  घर थियो । म ९ /१० वर्ष करिब उहाँको घरमा वसेँ । त्यहाँ रहुन्जेल कुनै झर्को–फर्को, टिका–टिप्पणि, आलोचना विना नै ढुक्क भएर समय व्यतित गरेँ । उहाँको करकलमबाट नै बैबाहिक कर्म सम्म गर्ने पुगेँ । फलस्वरुप हजुरबुवा ससुराको वैबाहिक नाता समेत जोडिन पुग्यो ।

उहाँ मृदुभाषी, प्रखर ज्योतिषी, दुरदर्शी , चलाख, कानुनीज्ञानको दखल राख्ने व्यक्तित्व  हुनुहुन्थ्यो । ज्योतिषमा भूत, वर्तमान र भविष्य पत्ता लगाउनुहुन्थ्यो । ज्योतिष क्षेत्रको जुनसुकै  कुरा पनि जवाफ दिन सक्नुहुन्थ्यो । मुद्दा झैझगडामा उहाँले कदापी हार्नुहुन्नथ्यो । उहाँ १०/१५ जना अघिपछि लगाई भान्से समेत साथमा लिई आफ्नो गन्त्यव्य तर्फ प्रस्थान गर्नुहुन्थ्यो । घरमा पनि ८–१० जना पाहुना  नियमित हुन्थे  । केहि व्यक्ति आफ्नो समस्या एवं आर्थिक संकट परेर उहाँकहाँ जाँदा १०–१५ दिन पालेर भएपनि उक्त समस्या समाधान गरि दिनुहुन्थ्यो । यसरी आफ्नो जिल्लामा मात्र नभएर अन्यन्त्रको समेत मानिसको उद्धार गर्नुहुन्थ्यो । सवै पाहुनालाई खुवाएर मात्र आफूखाने उहाँको स्वभाव थियो ।

उहाँ आधुनिक चेतनाले सम्पन्न भएता पनि तडकभडक र उत्ताउलो कपडा पहिरन गर्नुहुन्नथ्यो  । दौरा, सुरुवाल, टोपी, कोट, जुत्ता जस्ता राष्ट्रिय पोशाकले सजिनुहुन्थ्यो । जस्तै विद्वान उहाँसँग आएपनि एक–पटक उहाँबाट  शैक्षिक प्रश्नको सामना  गर्नुपर्थ्यो  । फलस्वरुप उसले अन्त्यमा झुकेर शरण पर्नुपर्थ्यो । उहाँसँग विभिन्न व्यवहारिक एवं शैक्षिक ज्ञानहरु थिए । अरुलाई पनि आफ्ना ज्ञानहरु बाड्ने गर्नुहुन्थ्यो । सिकाउँदा सैद्धान्तिक पाराले सिकाउनुहुन्थ्यो । जुन सिक्नेको मनसपटलमा तत्काल प्रवेश गर्थ्यो ।

उहाँ एक प्रकारको सामाजिक अभियन्ता  हुनुहुन्थ्यो । कसैका गरिवी, झगडा, छेवर, पास्नी, व्रतवन्ध, विवाह, न्वारान, अन्त्येष्टी, झगडा आदि समस्या भएपनि समाधान गरि दिनुहुन्थ्यो । उहाँको शोख भनेको आर्थिक लेनदेन वा लगानी थियो । त्यसैमा प्राय :  उहाँले आफ्नो जीवन केन्द्रित गर्नुभयो । आफ्नो सिप, ज्ञान तर्क क्षमतालाई विस्तारित  गर्नु भएको भए उहाँले  राज्यमा विभिन्न पद  मान सम्मान ग्रहण गर्न सक्नु हुन्थ्यो भने यो देश र  जनताले प्रसस्तै फाइदा प्राप्त गर्थे  । उहाँमा अथाह ज्ञानको भण्डार थियो जो उहाँसँग नै गयो । खालि उहाँको सम्झनामात्र रह्यो । उहाँको राष्ट्रिय कृति  केहि हुनुपर्ने थियो । यदि राजनीति क्षेत्रमा प्रवेश गर्नु भएको  भए मान पदका पुरस्कार आदी कुराले  पनि पक्कै सजिनुहुन्थ्यो । उहाँ यस संसारमा हुनु हुन्न र पनि उहाँको अमुल्य स्मृतीले हाम्रा बीचमा सदा रहनुहुने छ  । 

ooo 

२०७७/०६/१४

 त्रियुगा –३, उदयपुर


No comments:

Post a Comment