Wednesday, May 20, 2020

मेरो चिनारीमा नन्दलाल बा - रुद्रप्रसाद पोखरेल


साविक उदयपुर जिल्लाको गाउँ पञ्चायत ठानागाउँको वडा नं ४ थामखर्क निवासी सामाजिक व्यक्तित्व नन्दलाल पोखरेलसँग म सानै छँदा देखि सामान्य चिनारीमा रहेको थिएँ  । बसोवासका हिसावले हामी त्यसताका ठानागाउँ वडा नं ६ को पोखरीमा रहँदै आएका थियौ । व्यक्तिगत रुपमा म पोखरी स्थित विद्यालयमा कक्षा ३ सम्मको अध्ययन पुरा गरी साविक झिल्के पोखरी (इनामे) को विद्यालयमा अध्ययनको लागि जान थालें  । यस समयमा थामखर्के नन्दलाल बाको  विविध कारणले गर्दा खासै सामिप्यता नरहेता पनि पारिवारिक हिसाबले हाम्रो बासँग समय समयमा भेटघाट वा कामको सिलसिलामा बाक्लै भेटघाट हुन्थ्यो । सामाजिक व्यक्तित्व तथा तत्कालिन नेतृत्वसँगको जिम्मेवार अगुवा व्यक्तित्वको हिसाबले उहासँग अरु दुईचार जना मानिसहरु सदैब साथमा रहन्थे । विषयबस्तुको  खासै जनाकारी नभएतापनि मेरा बा (चन्द्रलाल पोखरेल) सँग लामै भलाकुसरी हुने गरेको पटक पटकको स्मरण समेत मलाई ताजै छ । पहिरनको हिसाबले तत्कालिन सेतो खाँडीको दौरा सुरुवा, कालो जवारी, जुत्ता र सेतै टोपी लाठी सहितको झझल्को अहिले नै हो जस्तो लाग्छ । 

वि सं २०४२ सालमा मैले एस.एल.सी. परीक्षा दिएर नतिजाको परखाईमा घर बस्दाको फुर्सदिलो समयलाई अवसर ठान्दै म थामखर्कसँगको सम्बन्धलाई बढाउन थालें  । २०४३ सालको जेष्ठ महिनामा हुन लागेको चुनाबमा जनपक्षीय उमेद्वारको रुपामा क्षेत्रिय सदस्य पदका प्रत्यासी मातृका  दाइ सँग चुनाव प्रसार प्रसारमा लागियो । इलाका केन्द्र बाराहा (हालको चिम्चुबुङ्ग  गा.पा) लाई मतदान केन्द्र बनाइएको थियो । सोही अवसरमा आफ्ना मतदाताहरुलाई खानेबस्ने व्यवस्था मिलाउन कान्छा बा(नन्दलाल बडीबा)ले मलाई केही नगद सहित जिम्मेवारी दिनु भयो । आफ्नो  जिम्मेवारी इमानदाताका साथ पुरा गरी बाँकी रकम फिर्ता बुझाउँदा उहाँ खुसी भई धाप मार्दै¬....अति इमान्दार छस्....भन्दै त्यस बेलाको रु. २००।-  हातमा राखी दिनु भयो । शुरुमा मैले सो रकम लिन हिच्किच्याएँ तर बाको करकापमा मैले उहाँको कुरा नकार्न सकिन र सो रकम गोजीमा हालें  ।

वि.सं. २०४४ साल मंसिर महिनामा म हालको महेन्द्र आ.वि. सोरुङ् पोखरीमा शिक्षक पदमा नियुक्त भएँ । त्यसपछि समय सययमा के के काम दिएर मेरा बाले मलाई थामखर्के कान्छा बा कहाँ  भेट्न पठाउनु हुन्थ्यो । प्रायजसो चिना हेराउन, कानूनी सल्लाहा लिने, भैंसी किन्ने लगायतका कामहरु हुन्थे । थामखर्क पुग्नासाथ विभिन्न किसिमका सँस्कृत स्लोक भन्दै मेरो जन्ममिति  मागेर हेर्नु हुन्थ्यो र ....तेरो जन्म कुण्डली राम्रो छ....भन्दै मलाई उत्साहित बनाउनु हुन्थ्यो । त्यसै समयको सेरोफेरोमा  मातृका  दाइ  पढ्न बाहिर बस्ने र अन्य भाईहरु उमेर अनुसार सानै रहेको कुरा स्मरणमा छ । त्यसताका गाउँघरमा युवाहरु मध्ये अलिकति पढेलेखेको हामीहरु नै पर्दथ्यौ । कहिले काही हामीले पनि सामाजिक न्यायको छिनोफानो गर्नुपर्ने अवस्था आउँदै गएपछि झन नन्दलाल बाँसँग बाक्लै भेटेर परामर्श गर्नुपर्ने हुन थाल्यो । थामखर्के कान्छाबाको ज्योतिषशास्त्रना  त्यसक्षेत्रमैं  नामी कहलिनु भएको थियो । साथै उहाँ भित्रको ज्ञान  राजनीति र कुटनीतिमा  पनि  फैलिएको  थियो । कुनै पनि न्यायीक उपचारमा पक्ष र विपक्ष दुबैका पक्षमा निर्णय नगरिने रहेछ । यो त सर्वमान्य न्यायको सिद्धान्त भित्र पर्ने तितो सत्यता रहेछ । त्यसैले होला एउटा समस्यामा जितेको महशुस गर्नेहरु अर्को विवादमा हारेको समेत महशुस गर्दथे । 

थामखर्कको सामान्य परम्परा भित्र सँथै भरी ठूलो कित्लीमा चियाको पानी ताती रहनु र कसैलाई पनि खाली पेट नफर्काउनु पनि पर्दथ्यो । नन्दलाल बासँग भलाकुसारी गर्दा मैले हाम्रा पुस्तावलीबारे अलि बढी नै जानकारी पाएँ । पुरानो कुरा त के रहेछ भने पहिला नन्दलाल बाहरुको पुख्र्यौली घरमा (पोखरी) त हाम्रो परिवारले   बस्ने गरेको रहेछ । नन्दलाल बा पोखरीबाट धापपानी हुँदै थामखर्कको बसाइलाई स्थायी बसाईमा परिणत  गर्नुभएको रहेछ  । मैले सुने अनुसार नन्दलाल बा को जन्म धापपानीमा भएको र जीवनका अन्तिम दिनहरु कबासेटारमा बितेको समेत मलाई जानकारी छ । हाम्रो परिवार र थामखर्के कान्छाबाको परिवार क्रमश ;

रुद्र  ..…….               मातृका
चन्द्रलाल ....….        नन्दलाल 
बद्रीनाथ .....….         कुलप्रसाद
तारानाथ ............      लक्षिमापति 
बीरभद्र  ....... (भाई)   जयभद्र  (दाजु)

भन्ने सम्मको मलाई  जानकारी छ । थामखर्क जाँदा ज्योतिष सिक्नपर्ने सल्लाह मेरा बालेपनि मलाई समयसमयमा दिई रहनुहुन्थ्यो तर काम व्यस्तताले र कान्छाबाको बृद्धा अवस्थाले त्यसबेला ज्योतिष सिक्न करीब करीब ढिला भैसकेको थियो । 

तत्कालिन समसामयीक सामाजिक संरचना र बिषयबस्तुहरुका सेरोफेरोमा थामखर्के कान्छा बाका सम्बन्धमा अलि बढीनै प्रतापी, सामाजिक, अगुवा, निडर, कुटनीतिक, चतुरका साथै समालोचनात्मक पात्रका रुमा औल्याउँन सकिन्छ । औपचारिक अध्ययनका विषयमा बारेमा  मलाई खासै जानकारी छैन । तथापी समयानुकूल कानूनी परामर्श समेत उहाँबाट धेरैले प्राप्त गरेको र म आफैँले पनि केहि नीतिगत बिषयबस्तुहरू  प्राप्त गर्ने अवसर पाएको हुँदा अध्ययनशील व्यक्तित्वका रुप्मा समेत मैले उहाँलाई मैले चिन्ने अवसर पाएँ ।

हाल : त्रि.न.पा. ५ देउरी, उदयपुर
मो. ९८६३६५४०८५

No comments:

Post a Comment