Sunday, August 2, 2020

बालस्मृतिमा 'नन्दलाल बा' ! - टिकादत्त पोखरेल

टिकादत्त पोखरेल              
                 

उदयपुर जिल्ला साविक ठानागाउँ गा.वि.स. थामखर्कमा जन्मनुभएका नन्दलाल बा ज्योतिष शास्त्रमा अत्यन्तै निपुण हुनुहुन्थ्यो । उहाँ ज्योतिषी मात्र होइन उदयपुरदेखि खोटाङ जिल्लासम्मका प्रसिद्ध  साहु पनि हुनुहुन्थ्यो । नन्दलाल बाको  म सँग त्यती घनिष्टता त थिएन मेरो बुवा गोपीप्रसाद पोखरेलको उहाँ भने अत्यन्तै आशा र भरोसाको  व्यक्ति  हुनुहुन्थ्यो । विपत्तीको घडिमा धन,बुद्दी र भबिष्यबाणी समेत गरीदिने भएकाले पिताजिको विश्वास पात्र मानिनुहुन्थ्यो । विद्वताको राम्रै कदर गर्न जान्नु हुने वा हाम्रो परिवारलाई असाध्यै मर्यादा पनि गर्नुहुन्थ्यो । किनकी २०५०/२०५४ तीर हामी तिनै दाजु भाइले मास्टर डिग्री लिइ सकेका थियौं  । एउटै परिवारबाट सबै परिवारले मास्टर डिग्री लिएको त्यस ताका उदयपुर जिल्लामा सायद थिएन होला त्यसैले हाम्रो परिवार र हामी प्रती बा को विशेष चासो रहन्थ्यो ।

 बा अत्यन्तै सरल र मृदुभाषी हुनुहुन्थ्यो । नन्दलाल बाले हाम्रो बुवालाई 'भैया' भन्नुहुन्थ्यो । हाम्रो बुवाभन्दा उमेरले चाहिं  दस बर्ष नै जेठो हुनुहुन्थ्यो बा । म बाल्यकालमा उहाँको घरमा गइ रहन्थेँ किनकी मातृका दाइ र मेरो दाइ कृष्ण सँगसँगै महेन्द्र मोरङ, बिराटनगरमा पढ्थे । घरमा आएको बेला कृष्ण दाइले मातृका दाइसँग भेट गर्न वा  केहिकेही  काम दिएर पठाउँथे र म थामखर्क जाने गर्दथें  ।

ज्योतिष प्रति मेरो बुवाको अत्यन्तै विश्वास थियो । किनकी, मेरो बुवाको जीवनमा घटेका महत्वपूर्ण घटनाहरु नन्दलाल बाको भविष्यबाणीले पुर्‍याइरहेको रहेछ ।  त्यसैले सानातिना कुराको पनि साहित जुराउन,सल्लाहा लिन मेरो बुवा थामखर्क  जाने गर्नुहुन्थ्यो । जबकी मेरो बुवा पनि सानोतिनो ज्योतिषि नै हुनुहुन्थ्यो । हामी तीन दाजुभाइ (कृष्ण,गणेश,इश्वर) चिना नन्दलाल बाले नै लगाउनु भएको रहेछ ।  हामीसँग ती चिना अध्यावधिक रहिरहेका छन्  । यसै सन्दर्भमा मेरो बुवाको जीवनमा घटेका घटना यहाँ चर्चा गरौँ  । मेरा बुवाका दुई भाई छोराको  सुरुका ६/६ महिनामैं  निधन  भएछ । त्यस पछी धर्मशास्त्रमा राम्रो दखल हुनुभएको बुवालाई छोराको मोह बड्दै जाँदा दोस्रो विबाह गर्नका लागी नन्दलाल बासँग सल्लाह माग्न जानु भएछ । नन्दलाल बासँग  बुवाले भन्नुभएछ  'मेरो दोस्रो विबाह गर्नु पर्‍यो' । नन्दलाल बाले चिना हेरेर "तिमीले अर्को  विबाह नगर भैया ! चालीस वर्षको सेरोफेरोमा तिम्रो काजक्रिया गर्ने छोराको जन्म हुनेछ ।"   त्यसको केही वर्षमैं  दाइको जन्म भएछ । मेरो बुवाको मृत्यु हुनुभन्दा   दस बर्ष अगाडी नै नन्दलाल बाले भबिष्यवाणी गरिदिनुभएको रहेछ । बुवालाई कुनै रोग लागेको थिएन । त्यसताका हाम्रो पहाडबाट तराइमा बसाइ सर्ने व्यापकता अघि बढिरहेकोबेला मेरो बुवा  नन्दलाल बासंग सल्लाह लिन जानु भयो । उहाँले हेरेर बसाइ नजाउँ हामीलाई मानो चामल पुर्‍याउन टाढा हुन्छ भनिदिनुभएछ  । त्यसैले मेरो बुवाले बसाइ नसर्ने निधो गर्नुभयो । त्यसको दुइ बर्षपछि बुवाको निधन भयो । यी उदाहरण बाट उहाँको ज्यातिषशास्त्र प्रतिको ज्ञान कति शक्तिशाली  थियो भन्ने कुरा प्रष्ट हुन्छ ।

मलाई पनि मेरो बुवाले नन्दलाल बाकहाँ गएर ज्योतिष सिकोस भन्ने चाहना राख्नुहुन्थ्यो  । के के नमिलेर म जान पाईनँ ।  अहिले  पछुतो लागि रहेको छ ।

  साविक उदयपुर ठानागाउँ(पोखरी) हाल भक्तपुर कटुन्जे


ooo 

No comments:

Post a Comment