Wednesday, June 17, 2020

थामखर्के ज्योतिषी बा र मेरो सम्बन्ध - तोयाबहादुर बुढाथोकी

तोयाबहादुर बुढाथोकी 

म सातआठ बर्षको हुँदा गाउँमा सुकिलो दौरा सुरुवाल, जवारीकोट अनि टोपी र जुत्ता लगाएर गाउँघरमा जाँदा साथमा दुईतीन जना मानिस सधैं लिएर हिँड्ने उहाँलाई मैले "थामखर्के ज्योतिषी बा" भनेर सर्वप्रथम चिनेको हुँ । जब गाउँघरमा थामखर्के बालाई देखेपछि म पछिपछि पछ्यायर सँगै हिँड्थेँ । त्यस्को कारण थियो, थामखर्के ज्योतिषी बा" मेरो घरमा आउछन् कि आउदैनन भन्ने मलाई चिन्ता हुन्थ्यो । किनकी थामखर्के ज्योतिषी बा मेरो घरमा आएपछी हाम्रो घरमा खिर अनिवार्य रूपमा पाक्थ्यो । मलाई खिर खाने साईत जुराउने ज्योतिषी बा अलि ढिलो समयसम्म हाम्रो घरमा नआउँदा म आमासँग सोधखोज गरिहाल्थेँ । यसरी थामखर्के ज्योतिषी बासँगको निकटता बाल्यकालमा उहाँको व्यक्तित्व भन्दा पनि मेरो खिर खाने लोभका कारण विकसित भयो ।

जब म अलिक हुर्कदै गर्दा शायद एकतीस बत्तिस सालतिर होला । मेरो ठूलो दाईलाई मेरो बुबाको अनुरोधमा बाले ज्योतिष पनि सिकाइदिने र ठूलो दाईले केटाकेटी पढाईदिने शर्तमा थामखर्क लैजानुभयो । त्यसपछि हाम्रो परिवार र थामखर्के ज्योतिषी बाको परिवार बीच प्रगाढ सम्बन्ध भयो । म पनि दाइ सँगै थामखर्क जान थालें । त्यसै बखत मातृकाजीसँग पनि राम्रै उठबस र सङ्गत भयो । त्यसपछि झन् मातृकाजी हाम्रो घर रूपाटारमा बसेर स्कुलमा पढ्न थाले पछी हामीलाई झन् एकाघरको जस्तो अनुभव हुन थाल्यो । त्यस पछि ज्योतिषी बाको नाम नन्दलाल पोखरेल (थामखर्के) पो रहेछ भन्ने मलाई थाहा भयो ।

म हुर्कदै गर्दा र उमेरले पाको बनाउदै गर्दा झन ज्योतिषी बा थामखर्क छोडेर मेरो गाउँ नजिकै कबासटार बस्न थालेपछी त दिनानुदिन भेट हुने क्रम बढ्यो । म शिक्षण पेशा गर्ने र नन्दलाल बा आफ्ना छोराहरुलाई बिद्यालयमा पढाउन ज्यादै चिन्तित र लगानी गर्न उद्दत हुने हुँदा अब म र थामखर्के बा बीच बाबूछोराझैं सम्बन्ध भयो । हाम्रो रितिरिवाज,संस्कृति ,धर्म र समाजका बिबिध सामाजिक समस्याहरुको अन्तिम निर्णय थामखर्के बाबाटै हुने र ज्योतिष बिध्यामा उहाँ प्रखर भएको कारण सम्बन्ध अझै झाङ्गिन पुग्यो । बेलाबेलामा बिध्यालयको शैक्षिक प्रगती र शिक्षाको आबश्यकतावोध गराईरहने प्रखर अभिभावकको रुपमा मैले उहाँलाई अझै चिन्ने मौका प्राप्त गरें । तर प्रकृतिको नियम हामिले चाहेर किन रोक्न सकिन्थ्यो र ! करिब १००( एक सय) वर्षको नजिक पुगेर उहाँले हामीलाई यस धर्तिमा छोडेर स्वर्गवासी हुनुभयो । उहाँको अन्तिम संस्कारमा सहभागी हुने मौका मैले पनि प्राप्त गरेँ । उहाँको आत्मालाई चिरशान्ती प्राप्त होस् ! फेरि पनि हार्दिकहार्दिक श्रद्धाञ्जली !

000

No comments:

Post a Comment