Thursday, June 25, 2020

मेरो सम्झनामा कान्छो हजुरबुवा : प्रमीला पोखरेल (भण्डारी)

प्रमीला पोखरेल (भण्डारी)

हाम्रा हजुरबुवाहरु सर्वश्री जेठो कृष्णलाल, माहिंलो भानुभक्त, साहिंलो मिनप्रसाद र कान्छो नन्दलाल गरी चार भाई हुनुहुन्थ्यो । म जेठो हजुरबुवाको कान्छो छोरो डिल्लिप्रसादकी छोरी प्रमीला पोखरेल । हाम्रो पुर्ख्यौली घर जतनपुरमा रहेछ । पछि हाम्रो हजुरबुवाले वासपानीमा बसोवास सार्नु भएको रहेछ । माहिंलो हजुरबुवाको बसोवास थुम्किमा, साहिंलो हजुरबुवाको जतनपुरमा र चार भाई हजुरबुवाहरु मध्ये सबैभन्दा तीक्ष्ण बुद्धि, सदगुण, क्षमतावान र उच्च विचार भएको कान्छो हजुरबुवाको बसोबास चाहिं  उच्चा परेको सबैभन्दा माथि रहेको थामखर्कमा भएछ ।  

मैंले हाम्रो हजुरबुवा (जेठो) लाई त देख्ने मौकै पाईनँ  । म सानैदेखि प्रायजसो मेरो मावली  घर भाडवेसीमा र पछि पढाईको सिलशिलामा कवासेटार हुँदै पूर्वी तराई झापा तिर झरेको कारणले घरमा कहिलेकाहिँ मात्र आउने जाने हुन्थ्यो । त्यसैले होला अरु हजुरबुवाहरुसँग त्यति घुलमिल हुने अवसर पनि भएन । तर मलाई धेरै माया गर्ने भएरै होला सबैभन्दा प्यारो लाग्ने कान्छो हजुरबुवा नै हुनुहुन्थ्यो  । मैंले मेरो हजुरबुवाबाट पाउनुपर्ने माया समेत कान्छो हजुरबुवाबाट पाएकी थिएँ । म जतिदिनको लागि घरमा बस्ने योजना लिएर पुग्थेँ,  त्यसको अधिकांश  समय म थामखर्कमा पुगेको हुन्थें  हजुरबुवालाई भेट्न । थामखर्क जाँदा बाटोदेखि हजुरबुवाको घरसम्म नै कति रमाईलो हुन्थ्यो त्यसको म अहिले लेखाजोखा गर्न सक्तिन । थामखर्कको त्यो ठूलो घर, दुईवटा मतान । एउटा मतानमा तलमाथि नै राखनधरन हुन्थ्योे भने अर्कोमा माथि राखन धरन गर्ने र त्यसको तलपट्टि ठूला ठूला खसी  बाँधिएको हुन्थ्यो । त्यहाँ  हेर्दै डरलाग्दा ठूलाठूला भोटे कुकुरहरू  पालिएका हुन्थे । घर नजिकै एउटा भोर्लाको झ्याङ थियो, म हजुरबुवाकोमा जाँदा बाटोमा पर्ने त्यहि भोर्लाको झ्याङनेरबाट डराईडराई यसो च्याउँथेँ, कुकुर छाडा छन् कि बाँधिएका छन भनेर ।  बाँधेको रहेछ भने त सरासरी जान्थेँ समस्या भएन, यदि कुकुर छोडेको रहेछ भने ठूलो समस्या आइपर्थ्यो  । घरबाट बाहिर को कतिखेर निस्केला र कुकुर समाइदेला भन्दै कुर्दै बस्नु पर्ने र अन्यमा कोही त अवस्य निस्कन्थ्यो र कुकुर समाइ दिएपछि कुदेर घरभित्र पुग्थेँ । 

हजुरबुवालाई घरमा भेट्टाउन अलि गाह्रै पर्थ्यो  । व्यक्तिगत र सामाजिक कामको शिलसिलामा हिंडिरहनु पर्ने भएकोले वहाँ धेरै जसो घर बाहिरै  रहनुहुन्थ्यो । त्यसैले म त्यहाँ पुग्दा हजुरबुवालाई भेटिन भने  निरास भएर घर फर्कन्थेँ । भेट भयो भने त म जति दङ्ग कोही हुँदैनथ्यो । हजुरबुवा घरमा बसेको बेलामा वहाँलाई चिया खाइरहनु पर्ने भएकोले अगेनामा एउटा केत्लीमा चिया पाकिरहेकै हुन्थ्यो भने ठूलो भाँडामा दुध तातिरहेको हुन्थ्यो । मलाई देख्ने बित्तिकै हजुरबुवाले खुसी हुँदै "ओहो मेरी नातिनी आइछ, एता आइज बस, अव म मेरी नातिनीसँगै फेरी चिया खान्छु" भन्दै चिया खाँदै गफिन्थ्यौं  । म त्यति सानी मान्छेले खास के पो गफ गर्थें  र तर हजुरबुवाले सबै सोधिखोजी गर्नुहुन्थ्यो ।  म सही  लाउँदै उत्तर दिँदै बस्थें  । गाउँमा प्राय: सवैको घरमा दुहुना हुने भएकोले काम विशेषले भेटघाट गर्न, सरसल्लाह दिन, सरसहयोग लिन आउनेले घिउ, कुराउनीका साथै मह लिई आउने चलन भएकोले हजुरबुवाको घरमा ती चिजहरु प्राय सधैं उपलब्ध हुन्थ्यो । त्यसैले म गएको वेलामा ती मीठा परिकारहरु भरखरै ताजाताजै ल्याइएको  वेला परेको रहेछ भने त कुराउनी खाने अवसर नमिल्ने कुरै भएन । मलाई कुराउनी असाध्ये मनपर्ने परिकारमध्ये पर्थ्यो  । हजुरबुवाले "ला नातिनी कुराउनी खा " भनेर दिँदाखेरी म दङ्ग पर्थें। केटाकेटीको लागि मीठो खानेकुरा र माया जताबाट पाउँछन उतै दङ्ग पर्छन भन्ने भनाई ममा पनि लागु हुनु स्वभाविकै थियो । 

म अहिले सम्झन्छु कि मेरो कान्छो हजुरबुवाको दिमाग कति तेज रहेछ भन्ने कुराको बयान गर्न मसँग शब्द छैनन । वहाँमा ज्योतिष शास्त्र, नीति शास्त्र, धर्म शास्त्र, कानून तथा अड्डा अदालतको कामकारवाही लगायतका हरेक क्षेत्रको ज्ञानको भण्डार थियो । कसैलाई पनि नराम्रो बचन प्रयोग नगरीकन सहि मार्गमा ल्याउन सक्ने वहाँको क्षमताको अगाडी जस्तोसुकै मै हुँ भन्ने व्यक्तिलाई पनि बलले भन्दा बुद्धिले ठाउँको ठाउँ आफ्नो तर्कले चित्त बुझाएर पठाइदिनुहुन्थ्यो । त्यसैले म अनुमान लगाउँछु कि - जसरी बुद्धि बस्ने ठाउँपनि सवैभन्दा माथि हुन्छ टाउकोमा, त्यस्तै बुद्धिमानले पनि आफु बस्ने ठाउँ रोज्छ  । कान्छो हजुरबुवा सबैभन्दा माथि थामखर्कमा त्यसैगरी बस्नुभएको जस्तो  लाग्थ्यो  ।  

ज्योतिषशास्त्रमा हजुरबुवाको ज्यादै गहिरो अध्ययन र अनुभव थियो । गर्भमा रहेको बच्चा छोरा हो कि छोरी भनेर कोही हेराउन आएमा हुनेवाला बच्चाको टिप्पणी सहित लेखेर दिने र ठोकुवाका साथ भन्न सक्ने क्षमता थियो  । "तैँलेपनि ज्योतिष  सिक्नु पर्छ आइज म सिकाइदिन्छु" भन्नु हुन्थ्योे मलाई वेलावेलामा ।  तर खै, मलाई किन होे कुन्नि यत्ति धेरै डर लाग्यो कि हजुरबुवा जत्तिको जानिन भने के गर्ने होला भनेर सोच्दै म डराउँथें । अनि एक दुई महिनासम्म भेट्न पनि जान्नथें  हजुरबुवालाई । सायद हजुरबुवा धेरै जान्ने भएर पनि होला मलाई त्यति आँट नआएको ।  अहिले सम्झंदा त्यस्तो लाग्छ  ।

हजुरबुवा हाम्रो घरमा आएको बेलामा मलाई देखाउँदै मेरो बुवासँग योे त तेरी छोरी होइन छोरा हो भनिरहनुहुन्थ्यो ।  अनि म पनि दङ्ग पर्थेँ र बेलाबेलामा बुवासँग भनि रहन्थेँ कि कान्छो हजुरबुवाले भन्नुभएको म त छोरा हो अरे नि ! 

कान्छो हजुरबुवाको ज्यादै माया लाग्छ र सधैँ सम्झिरहन्छु । त्यसवेला कान्छो हजुरबुवाले माया गरेर भनेका शब्दशब्द सम्झन्छु । मलाई त्यत्ति माया गर्ने र मैँले त्यत्ति माया गर्ने कान्छो हजुरबुवालाई भेट्ने इच्छा हुँदाहुँदै पनि समय र परिस्थितिले गर्दा वि.सं. २०४५ साल पश्चात एकचोटि पनि भेट नभइकन २०६६ सालमा हामी सबैलाई छोडेर कान्छो हजुरबुवा परलोक हुनुभयो । कान्छो हजुरबुवालाई २०४५ साल पछि एकचोटी पनि भेट्न नपाएकोमा मलाई सधैँ पछुतो लागि रहन्छ ।   

000  

No comments:

Post a Comment