Sunday, July 26, 2020

वरदायी ती प्रिय दिन हरु !! - दिनविनोद खड्का


दिनविनोद खड्का

"भाइ  तिमीले स्मृति लेख्नु है", ण्डै सवा वर्ष अघि मातृकादाइले भन्नुभयो । बेलाबेला तरंगित हुँदै सोच्थें,  अब दाइ ले बिर्सिनुभयो अनि आफूसँग लेखिहाल्ने आँट र जाँगर नभएकोमा कृतघ्नताको लघुताले यीनदिन घरिघरि पिरोले पनि ।

यही सवा वर्षकै लाट फेरि एक महिना अघि  मेसेन्जरमा भाई निलकण्ठले दोहोर्याए ,“ दाजु हामी तारतम्यमा जुटेकाछौ । राम्रो स्मृति लेखेर तयार गर्नू है । यो आग्रहले पनि नछोडे पछि भने आफ्ना स्वभावजन्य लघुतालाई चिर्नपाउने मौका बाँकी नै रहेको लागेर  फुरुंग पनि हुँदै यसपटक भने लेखिछाड्ने अठोटले तत्कालै केही शुरु गरें । अक्षर राम्रा छन तेरा , शब्दकाटेर लेख्दोरहेछस् ; बढिया छ बाबु भनेर ४०-४२ तिर मलाई ढाडस दिनुहुने र मैले केटाकेटी बेला देखि हाम्रो  पारिवारिक हेलमेलमा विशीष्ट धरोहर ठानी देखि आएका उहाँ अर्थात  स्वनामधन्य थामखर्के बा - जो ४३ साल पछि मितज्यू टिका पोखरेलसँगको साइनोबाट  मैले  मितबुवा भन्न पाएका - का बारेमा श्रद्धा-स्मृति लेख्नु मेरा निम्ति हरकोणले सहज हुने नभएरै यतिका अवधि  मैले बरु उल्लुको अपजस नै बेहोरें । छ पाँच, छ पाँच भैरहकै हो मन पनि 'नलेखुँ असंभव लेखुँ त के !?' भन्दै यतिका दिन यसरी नै गुजारेको हो ।

शुरुआत तिर  सामाजिक जीवन बारे हेक्का हुन थाल्दा मेरा हजुरबा र उहाँका दौंतरीहरुले भन्ने आहान " कस्तो मान्छे? सुरुवाल लाएर मान्छे वा मान्छे भएकैले फलानो नाउँ गाउँ को मान्छे ! बाठो कसरी ? कानले सुनेर मुखले बोलेर कि दुनियाको भलो हुने काम काट्न सक्ने गन्नेमान्ने भएर !?" जस्ता सामाजिक मान्यताहरुकै आसपास हामी बाँचेको परिवेशिय मुल मानकमा उतिसारो परिवर्तन पक्कै भएको छैन । लाग्छ कुनै सहज बेलाहरुमा सामाजका आवश्यकताले व्यक्तिको आदर्श निर्मित हुने हो अनि कुनै क्रान्तिगर्भा क्षणहरुका बेला व्यकतिका विशिष्ट योग तप ले समाजिक आदर्शको खाका पनि कोरिन्छ । त्यो समय अर्थात् मेरा १९६० सालका बाजेहरुको पुस्ता, सरदर २००० सालको बाउपुस्ता र १५-२५ सालको दाजु पुस्ता भन्नु पनि सरदर १०० वर्षकै अन्तरालमा हामीले संगत ज्ञान विवेक आचरण का विरासत पाएका हौ । जीवनको क्षणभंगुरतामा अनायास गायब भएका ६० साले मेरा बाजे ७० सालका उहाँ थाम्खर्के बा ९७ सालका मेरा बुवा का छोटै संगतमा मैले जीवनलीलाका जुन छँटा देखे सुने भोगे त्यसको आलोकमा भने थाम्खर्के बा का निम्ति श्रद्धास्मृति लेख्ने विरासत मैले गुमाउनु त अक्षम्य हुने नै हो । यही लेखकिय अठोटमा यतिखेर अनुकम्पित छु पितृत्वको पिपलछहारी पाएजसरी । लाग्छ समाज र मान्छेका लेनदेनका ऐंचोपैंचोमा थाम्खर्के बा का हकमा पनि उहाँको पौरष पक्षले हाम्रो परिवेशको मानकमा  बढ्ता भार छोड्यो । न्याय-अन्यायका बारेमा निर्णायिक अधिकारको हैसियत पाएका , जीवन पर्यन्त ज्योतिष विधा र सनातनी पूर्विय वैदिक  ज्ञानको प्रखर क्षमता आर्जन गरी सर्व हिताय अर्ति उपदेशबाट धेरैलाइ शिक्षा र विवेकको गुन लगाउन सकेको उहाँको व्यकतित्व जीवनपर्यन्त भर्भराउँदो रह्यो अनि उपरान्त पनि सदा आग्रहित र अविष्मरणीय ।

६० वर्ष अघिका बाजे बाउका सन्दर्भ: आफनो लेखपढ नहुनाको कारण शास्त्र श्रुति का केहीकेही कुरामा  यदाकदा ए भन्ने र भरसक यस्ता वहसमा वोल्न हिच्किचाउने मेरा हजुरबाको अरु मान्छेलाइ परख गरेर मात्र यथोचित आदर  गर्ने  अनौठो बानी थियो । कुनै अर्थले पनि गफाडी,उद्वेगी, उदास, पुंगबाङ, उपद्रय्हा, छुल्यहा  इत्यादी नभएर कोही मानिस आफुलाइ दिगालु र असलै हो (उहाँले बोल्ने पुराना शब्दहरु) भन्ने लागेपछि मात्र उहाँ जोगी बाबाजी पंडित, पुरोहित , धामी , ठालुहरुका स्वागत मान सम्मान आफनो तरिकाले मात्र गर्नुहुन्थ्यो । केही बोलीचाली र हाउभाउले तत्क्षणै मान्छे  पुङभाङ  वा दिगालु( उहाँकै शब्द ) भन्ने छिटै ठम्याउने हुँदा उस्तै मै हुँ भन्ने मान्छेको पनि सातो झार्न मेरा जिम्मल बाजेलाइ रत्ती मलकाज को जरुरत लाग्दैनथ्यो । अनि धन ज्ञान विवेककै भरमा कसैलाई बढिमान पनि गर्नु भएन । बुढाको यो विशेष गुणलाइ  १० वर्ष कान्छा लगभगका दामली थाम्खर्के बा ले अजिंगर जस्तो कतै चाहारी नहिन्ने जोरी खोजी आउनेलाइ निल्न सक्ने भनेर ढुक्कको मान भिराइदिनु भएको थियो भने हलेसी मौजा क्षेत्रकै अर्का ठालु डिल्लीशेर राइ र उहाँका सम्धि गाउँमा साहुबुढा भनी प्रख्यात रुद्रलाल राइ हरुले पनि यो ठाउँकै इमानी र  दीगालु मान्छे विश्वास गरेर आपसी रायमस्यौरा  गर्ने सम्बन्ध कायम रहेको थियो । यसको फल आजतक हामी सन्तानकै तहत पनि पारिवारिक हार्दिकता कायम छ । म अबोध हुदै कुनै एक दिन मेरा बाजेका बारेमा यो वर्ष (७५ वा ७७) को खड्गो काटेपछि जिम्मलको आयु कम्तिमा १०३ बर्ष  भनि थामखर्के बाले नै ज्योतिष ठहर लाउनुभएको थियो । हावाको बिरामीले त्यही हिउँद मृत्युशैयाबाट फर्केर पछि सद्दे भै २०६५ सम्म १०५ वर्ष आयू व्यतित गरेका मेरा हजुरबाले अरुका तुलना आफुलाई वचन र भावना ले कहिल्यै होच्याउनुभएन, निकै परख गरी जोड्ने अरुसँगको मान सम्मानको नाता पनि घट्न दिनु भएन । थाम्खर्के बा मेरा बाजेका निम्ति अन्तिम सल्लाहदाता, खाँचो पैंचोका भरपर्दो दामली पनि हुनुहुन्थ्यो भने ज्योतिषज्ञान र शास्त्रका पंडितज्ञानको लागि उच्च सम्मान पाएका हाम्रा परिवारका लागी हितैषी व्यकतित्व ।

 यस मिजासका  बाजेका गुणका विपरित आफ्नो किशोर वय देखि नै ज्ञान ,  विवेक ,  अन्य समाज र संस्कृतिका विभिन्न हैसियतका मानिसहरु सँग  सम्बन्ध राखेका मेरा  पिता नरबहादुर खड्काको  तेस्ता मानिसहरु बढि नै श्रद्धा र अनुशासन रहन्थ्यो । जस्तो,  कुनैबेला गुरु पंडित हरुको खुट्टामा पानी राखेर धोइदिनु पनि हुन्थ्यो आफना घर आउदा । थामखर्के बा बुवालाई प्रेमिलरुपमा "ए नरबहादुर"  भनेर सम्बोधन गर्नुहुन्थ्यो । घरि घरि मेरा बाजेलाइ बुवाको हल्का र हुन्छ हुन्छ भनी हाल्ने स्वभाव ले जङ चलेका बेला पनि मेरा बुवाको मान्छे चिन्ने राख्ने, आँटिलो  र उदार भाव, शास्त्र ज्ञान र सामाजिकरुपमा विवेकी निर्णयका बारे बुझाइदिएर शान्त पारिदिनु हुन्थ्यो ।

शुरुमा लेखापढि सिक्ने उदेश्यका लागी मेरा हजुरबुवा ले मेरा पितालाइ उनै थामखर्के बा कहाँ पठाउनु भएको रहेछ । झण्डै एक-आध वर्षमा तमसुक, भर्पाइ, लगत राख्ने जस्ता स्रेस्ता कागजात र फिराद प्रतिवादी जस्ता ज्ञानमा  कुशल भएपछि पुर्खेयौली जिम्मावली चलाउन अब समस्या  पर्दैन र कसैले दपेट्न सक्दैन भन्ने निष्कर्षले पछि बुवालाई मेरा हजुरबुवाले छुटाइदिनु भएको रहेछ। संभवत १४ वर्षको उमेरमा मेरा बुवा आमा को बिहे १२१३ सालतिर भएको हुनुपर्छ । त्यो पढाइ छुटाउने  संयोग पनि त्यही बाहाना घर व्यबहार सम्हाल्नु पर्ने  मान्छेले अरुको घरमा घरधन्धा सघाउँदै बस्ने होइन फेरि थाम्खर्केका अघिपछि धेरै मान्छे लेखापढि गर्ने सहयोगी बनेर हिडेका छन् तँ पनि बाटो बिराएर घरद्वार भुल्ने र  जिम्मावली खुस्काइमाग्ने बराला हुन बेर छैन् भनी बाँकी नपढन् निर्देशै गर्नु भएछ । पछि थाम्खर्के बा लाइ यही कुरा भन्नु भएर पढाइ छुटाएपछि मेरा बुवाले अड्डा अदालति व्यवहार १७ वर्षको उमेर देखि पर्गेल्दै गर्दा मुलत उहाँ लाइ नै गुरु थाप्नु भएको कुरा सुनेर हामी हुर्किएका हौ । मेरा बुवा लाइ त्यो थाम्खर्क गुरुकुल बसाइमा काम सघाउने लघुता होइन उ बेला आमा गुमाउनु भएका गोमा दिदी र सीता दाजुको बालसुलभ लीला धेरै मार्मिक र यादगार लाग्दथे । भन्नु हुन्थ्यो गोमा दिदी पढाइमा तीक्ष्ण र सीतादाइ बालसुलभता अनुसार करलागी पढ्नु हुन्थ्यो अरे जस्को रखबारी गर्ने काम थाम्खर्कमा मेरा पिताको पनि पर्दथ्यो भन्नु हुन्थ्यो । ४० सालतिर मातृका दाइ सँग भेटमा एक प्रगतिशील र सभ्य संगतको युवकको रुपमा हौसलाप्रद गफ गर्ने मेरा पिताले उहाँहरु सँग सधै नै सीता दाजु अनि पछि गोमा दिदीको बारेमा सोध्नु हुन्थ्यो । पछि मच्छिन्द्र दाइ, मीत ज्यू टीका र अरु भाइहरुको अलग अलग तर खास प्रेमिल सम्बन्धले पनि मेरा पितालाइ उहाँको आफ्नै हौसलाले पुराना यी बालपात्रहरुलाइ उहाँहरुको प्रौढ सफलता नियाल्ने भावनात्मक र जीवन्त रहरमाथिको विश्वास थियो । गुरुकुलतुल्य थामखर्क छोड्नु परेपछि पनि उहाँले मेराबाजेलाइ हरेक तरहले संझाइदिएपछि मेरा पिता मेरो  दिदी जन्मे पछी पनि १७ देखि १९२० साल तिर शायद पुर्णबहादुर भन्ने दौतरीसंग हालको रुपटार मा .वि . मा ७ ८ कक्षामा अध्यायन गर्नु भएछ । र पछि फेरी विविध कारण देखाएपनि मुलत अड्डा अदालति कामको लागि लेखापढिको जरुरत आफूबाट धान्न गारो हुने भएरै पितालाइ हजुरबाले पुन पढाइ छुटाएको कुरा उहाँहरु तीनै जनाको भेटघाटको गफमा घरि घरि उप्किन्थ्यो ।

सबैका साझा थाम्खर्के बा को परामर्शदातृकर्मले एक विन्दुमा भने गजब झड्का  मेरा बाउ बाजेलाइ परेको रहेछ । त्यो के भने उहाँहरुले बाध्यता आइपरेर गरेको पछिल्लो मुद्दाका  प्रतिवादी लेखाइका लागि विपक्षी ले पनि उहाँहरुबाटै सुझाव लिएको पनि जानकारी सम्म मेरापुर्वजहरुले नपाएको तर सहयोग सल्लाह  पाएको चै पक्कै रहेछ भन्ने ठहर गरेपछि मेरा बाउ बाजेले थाम्खर्के बा सँग ३९-४० साल तिर निकै चित्त दुखाउनु भएको थियो । यस्तो बुझेपछि थाम्खर्के बा हाम्रो घरमा आउँदा त्यो रात निकै कुटनितिक तर सभ्य छलफल भयो ।  म संझिन्छु  थाम्खर्के बा आउदा सधै झै लालटिन माझेर आफु मिश्रीसरसँग पढ्नु पर्ने अपहत्ते बाट मुक्त भएको त्यो दिन मेरा बाजे पटक्कै बोल्नुभएन तर मेरा बुवा र थाम्खर्के बा चेला अनि गुरु अथवा  भागवत कथाका नर-नारायण प्रतीत शैलीमा बोल्नु भएको थियो । पछि त्यो मुद्दा मिलापत्रमा टुंग्याउन थाम्खर्के बा को भुमिका परोक्षमा नै ज्यादा रहेको अनुमान हुन्छ । त्यो परिवारले मेरा पुर्वज पट्टि निकै संवेदनशीलता र सहानुभुति देखाएको घटना पनि हुनपुग्यो यो । विधा ज्ञानका अतिरिक्त थामखर्के बा ले  नैनासिह ठकुरी, निबुवाटार कुलो लगायत अरु विविध विषयमा उठाएका कानुनि अभियानको छाप  मेरा   बुवालाइ संभवतः न्यायिक प्रेरणाका श्रोत लागेका थिए ।राजासँग राजा सरहका मान्छेसँग भिडेको त्यो कथामा काण्ड र फत्तुरका रोमांचक कुराहरु थिए । कसरी आइमाइ भेषमा उम्किन सकियो जस्ता कुराहरु पनि हुन्थे । राज्यशक्ति हातपारेकाहरु सँग भीडन्त हुनुले परोक्षमा शायद मीत बुवा बागी केन्द्र रहनु भयो र पछिल्लो पुस्तामा प्रगतिशीलताको रगत यसकारण पनि सरेको हो कि !

उहाँ आउँदा राडी ओछ्याएर पुरानो खाटमा हातखुट्ठा धोइवरी फुल गंजी वा वाहुला बिनाको लवेदा र धोति फेरेर वस्नुहुन्थ्यो खाना आफै बनाउने बेलासम्म र बिना फुर्सदिलो भइ हाम्री आमा, हजुरआमा, फुपु सबैसँग सुखदुख कामकाजका बारे पनि सोधखोज र अर्ति उपदेश गर्नु हुन्थ्यो। हजुरआमा को एकैछिन खाली नबस्ने उधमी बानी र आमाको साधारण अनि जस्तोसुकै दुख पनि सहन गर्न सक्ने गुणलाइ तारिफ गरिदिनु हुन्थ्यो । कडा र आफ्नो बाहेक अरुको कामकाज र मन मलकाजलाइ सहज नबुझ्ने जिम्मलघरकी बुहारी हुन कमजोर स्वास्थ्यकी मेरी आमालाइ धेरै गारो थियो । माइत जान नपाएको दशौ वर्ष हुन्थ्यो । अलिकति केही चित्त नबुझ्दा हजुरआमा लाइ समेत थापाकी छोरी भनी सातो बोलाउने बाजेको स्वभावसँग घरका महिलाजन सधै थर्कमान भैरहनुभयो । यस्तोमा मेरा मावली र बुढो मावलीबारे उत्तिकै जानकारी राख्ने थाम्खर्के बा को क्षेमकुशल सोधपुछ मेरा आमा हजुरआमाहरुलाइ असल अभिभाकत्व हुन्थ्यो भन्ने हामीले उहाँका लागी आमा हजुरआमा लाइ तरकारी केलाउदा आगो सारीदिदा पानी ओसारिदिदा सुन्यौं जान्यौं । थाम्खर्के बा घरिघरि प्रसंगमिलेका खण्डमा बाजे बज्यै लगायत सबैले जान्ने बुझ्ने गरी घर भनेकै महिलाले बनाएका हुन्छन् र जहाँ यिनको मन रुन्छ त्यहाँ कहिले शुभ हुनसक्दैन भनेर प्रवचनै गर्नुहुन्थ्यो । नारीको तपस्या र निष्ठाले नै सृष्टि चलेको हुन्छ भनेर उहाँ व्याख्या गर्नु हुन्थ्यो ।धेरै तिर डुल्दा र साथमा सधै २-४ जना रहने हुँदा धेरै अवस्थामा उहाँले गृहणीहरुको गर्जो टार्ने सकस पनि अनुभुत गरेको कारणले होला खानपिन सफा हुनुपर्ने तर विशिष्ट नै हुनुपर्ने मान्यता उहाँको थिएन जस्तो लाग्छ । सानो उमेरमै परदेशिएको मैले जानेसम्म मेरा घरमा पाहुना हुँदा उहाँले कहिल्यै माछा मासु खानु भएन । अनि बेलुका थोरै बेसार वा अदुवा वा शुद्ध पानी उमालेर खाने उहाँको चलन मैले आजकल फिल्ड खटिएका दिन संझेरै ग्रहण गरेको छु । यो विधी बिरामी हुनबाट जोगिने प्रबल उपाय लाग्छ । उहाँ दिवंगत भएपछि १० बर्ष को अन्तरालमा गतवर्ष दिवंगत भएका हाम्रा पिता सखर खाँदा पटक पटक थामखर्के बा  सख्खरको छेउमा चिनी त  कन्धने भन्नुहुन्थ्यो भनेर संझिनुहुन्थ्यो । यसरी  पाका पुर्खाले भोगी जानेका हुन्छन चीजको महत्व ,औषधि नै हो सख्खर भन्दै बाजे बज्यै संझिएर उनीहरुकै नाम जपि सखरले धित मार्नु पनि शायद पुण्य नै हुन्थ्यो मेरा बाउको अर्थमा । मेरा १०५ बर्ष बाँचेका बाजे २०६६ सालमा खस्दा मेरो परिवारले उखु खेतिगरी सखर तुल्याएको ९९ वर्षको निरन्तरता थियो ।  आज तेस्को गौरवमय पारिवारिक निरन्तरता गराउन सकस छ हामीलाइ ।

सख्खर पछि भुइकटहर मालभोग केरा मेरा बुवाले गुरुको रुपमा वहाँलाई उपहार गर्नुहून्थ्यो जो बाजेका पालासम्म अटुटै जस्तो भइरहयो । हो , यो पनि भनौ लेनदेन घरब्यबहारले कुनै बेला धार्नीका धार्नी सख्खर लेनदेनका हिसाब किताबमा लैजानु हुन्थ्यो भने हरेक साल उखु पेलेपछि उहाँ का नाममा १,२ धार्नी प्रेमले मेरो परिवारले अर्पर्ण गर्थ्यो । आहारको बारेमा संस्कृतमा भनेर पछि उल्था गर्दै ...घामले पाकेको, आगोले पकेको, घरमा न्यानो पारेर वाफले पकाएको खानु क्रमशः असल (उँहा बढिया पनि भन्नुहुन्थ्यो ) । गोरस गाईकै , फलफुल भुइकटहर , केरा  मालभोग , उखु गेवारा सर्बोच्च हुन्छन् शस्त्रले भनेको छ । यसमा वुवाले पनि हौसिएर थप्नुहुन्थ्यो हो नि कान्छाबाउ , कृष्णले अर्जुनलाई भनेकाछन ..नी....(श्लोक आउदैन अहिले  मलाई)  हो,हो ।' यसले पनि ल्याउँछ शास्त्र भनेर मेरा बुवा लाइ भनेपछि  हाम्रा बाजे जिम्मल गम्भीरसिंह र थामखर्के बा नन्दलाल पाध्या सन्तोषको मुस्कान आभा अनुहारमा ओराल्थे सँग सँगै ।

देवी देउता र शास्त्रको चिनारी हामी सन्तानखालले बाउका मीठा श्लोकबाट  श्रुतिजनित रुपमा जान्यौं केही । केही जानकारी भने रामायण , महाभारत , देवीभागवत कै कतै कतै पढेका अनि वाउले थाहा पाउँदैनन् भन्ठानेर राम्रा फोटा भएका पाना च्यातेर राख्नेगरेका बालककालमा पनि बढे । र, आजतक तेतीले नै काम चलाइएको छ ।कुनै दिन एक साँझ  थाम्खर्के बा आउनुभएको बेला अरु बेला जस्तै श्लोक आदि गुन्गुनाउदै हातमा दुध दुहुने ढुंग्रो बोकेका  मेरा पिताले भागवतको नरनारायण प्रसंगबारे सोध्नुभयो कान्छा बाउ .... यो रहस्य के हो । प्रश्न उत्तर हुबहु  म यतिखेर ठ्याक्कै जान्दिन तर  उत्तरमा थामखर्के बा ले संस्कृतको कुनै श्लोक उधृत गर्नु भयो ब्याख्या गर्नु भयो  । यस्तो ब्याख्याको विविधावली पौराणिक र मौलिक व्याख्या सांख्य हो वा  वैश्वेशिक कुन्नि कुन दर्शनमा आधारित भएर मेरा पिताको चित्तबुझ्ने आधारले अर्थ लगाउनु भयो । अनि वुवा मुस्कुराउँदै आँगन बाट दुधदुहुन बढ्नु भयो । यस्ता अनेक प्रेरणा पायौ हामिले । पिताको स्वध्ययनको जीबनपर्यान्त साधनामा थामखर्के  बा सदा गुरु नै रहनु भयो ।

मेरा वुवा को बिहान र साँझ नित्य कर्म हुन्थ्यो:  गाई भैसी दुहुने , घास हाल्ने अनि तुलसाको मठमा जप गर्ने । साँझको तेस्तो पल र बिहान उठेर घरधन्दा गर्दा वुवाको मुखाट बिभिन्न शास्त्रका श्लोक को गुनगुन सुन्न  पाइन्थ्यो यज्ञ शुरु र अन्त्य छ घरमा जस्तो ।कुनै एकदिन गज्जबै भो । बुवाले कुन्नी कहाँबाट मृगासन राम्रै पैसा तिरेर ल्याउनु भएछ । अनि त्यसमै बसेर तुलसीमठमा पाठ शुरु गर्न थाल्नुभएको हप्ता दिन भित्रै थाम्खर्के बा आउनुभयो । उसैगरि त्यो दिन पनि मेराबुवाले जप थाल्नुभयो मृगासन बसेर । सकीएपछि थाम्खर्के बा ले भन्नु भयो" नरबहादुर तुलसाको मठमा मृगासन लानु उचित होइन । तेसपछि बुवाले जोगी बाबाजी को कुरा ल्याउनु भयो । मितबा ले मिलाइदिनु भयो बाबाजीहरुको पन्थ नै फरक हो तथापी मनले गर्दै आइसकिस् । आत्मा नै ठूलो हो भक्तिका लागी । तँ पनि पण्डितै होस् । ठीकै छ ।

तर स्मरणीय यो पनि छ कि उहाँहरु दुबै धर्मान्द नभै नास्तिक दर्शनका आस्तिक प्रतीत हुन्छ मलाइ । पुरोहित र पंडित्याइ कर्मको बरु आलोचना गर्ने  थाम्खर्के बा अनि सनातनी पूजापाठ बलिभाकल आदि प्रति अटेर भाव राख्ने मेरा बुवा हरुका धर्म दया न्याय त्याग जस्ता पक्षमा आफ्नै स्वाध्यायन र तर्कहरु थिए । मानक धर्मग्रन्थको संस्कृत बाङमयका शास्त्रज्ञान प्रशस्त भएका मितबुवा मेरा पिताकाका लागी ती ज्ञानहरुका पंडित भैदिनु भयो भने विविध धर्मग्रन्थ, दैनिक रेडियो श्रोताका रुपमा समसामयिक राजनितिक सुचना सामाजिक र पछिल्लो दिनको पार्टिगत  लगावले जीवनका अनेकन रंगको स्वज्ञान आर्जन गरेका मेरा पिताका निम्ति जीवनभर थाम्खर्के बा अन्तरक्रिया र निर्क्यौलका नर नारायण तुल्य सम्बन्धमा रहनु भयो ।

मेरा जीवनमा थाम्खर्के बा लाइ मुख्य तीन मोडमा संझिनु पर्दा मजाका किस्साहरु बाँड्न पाउँछु म । संभवत: ४३ साल फागुन वा ४४ वैशाखतिर  मितज्यू टिका र मैले मित लगाएपछि  थाम्खर्के परिवारमा अर्को चरण सम्बन्ध बिस्तार हुनगयो । पुर्ववर्ति सम्बन्ध को प्रगाढता र पात्रहरुको अवस्थिति यथावतै रहनु निश्चित हुने नै थियो तथापी नयाँ पुस्तामा नयाँ रंग  र ढंगमा पछिल्ला दिनहरु चलायमान बनाइएकोछ । साहित्यक अध्ययनको मेरो रुचीलाइ मातृका दाइले मेरो १७-१८ वर्षे मनस्थितिलाइ दिदी पारिजातका अदितिय रचनामा मोडिदिएर मार्क्सवाद वा प्रगतिशीलताको रहस्यको दिशातर्फ उन्मुख गराइदिनु भयो ।

मीत बा सँगका रमाइला तीन प्रसंग पनि जोडौ ।

पहिलो किस्सा, म नौ बर्षको उमेरदेखि घर छोड्ने भाग्यको परें नि मा वि स्कुल पनि गाउँघरतिर नहुँदा । ६ ,  ८ वर्षको मेरो उमेर ताका आमाले औधी पीर गरेर भन्नुहुन्थ्यो , यसको भाग्यले घर त्याग्ने योग छ अरे थामखर्के बा ले भन्नुभएको । ७ वर्ष सम्म पानीबाट नोगाउनु भन्ने उहाँकै  ज्योतिषबाट । नभन्दै सुनकोशी मा ६ वर्षको उमेर तिर र  मावल दुधौलीको दुधौलीखोलामा ७ वर्ष छेक जीवन नजीक नजीक कालको दर्शन मैले अनुभुत गरेको थिएँ ।

अर्को किस्सा हुन्छ मित बुवाले सरदर ४६ सालतिर एस एल सी दिइबसेको बेलाको जहाँ यो फेल पो होला कि कसो नी भन्ने शंका हुँदो हो म माथि बाउबाजेको । मीतबा का उनै शब्द "बाउबाजेको छत्रछायाभन्दा अलग हुने खाँचो सहजै टर्ने टारिदिने सहयोगी पनि पाउने तर मनमा अनेक नयाँ नयाँ वेचैनीले सताइरहने योग छ यस्को । बिहे जन्मेको मुलथलोबाट उत्तर पुर्व इशान दिशामा हुने सन्तान दुर्लभ रुपमा प्राप्त गर्ने आदि । अनि बृहस्पति पंचम् स्थानमा रहेका कारण पढाइ लेखाइ बढिया हुने योग ।" नमिलेको लागेको छैन यो पनि ।

तेस्रो किस्सा उदण्डताको हो ।मातृकादाईले म ८ कक्षामा पढ्दा जीवाणु देखि मानब सम्म किताब ल्याउनुभयो आदमारामा । उहाँ आई . ए .पास भइसक्नु भएको थियो शायद । मेरा मित र म भर्खर मितेरीमा गाँसिएका तर बदमासीमा दाजुहरुका दाजु थियौ तर मातृका दाइ लाई आदर गर्थ्यौं । यसो गर्नुमा हामीलाई वुद्धिमान हो हामीपनि भन्ने लाग्दथ्यो । एकातर्फ यसखाले मौका र अर्कोतर्फ मेरा दिदी भिनाजु को गाउँ बरडाँडा मा उहाँहरु लगायत पुर्ण वहादुर खत्री , नारायण खड्का हरु मशालका पुराना कार्यकर्ता रहेका र  मातृका दाई पनि तेतै कतै लागेर 'बनाउछौ हतियार तर भिर्ने अर्कै छ; सिलाउछौ लुगा लगाउने अर्कै छ' भन्ने आव्हानको नेता भै हिडेको समयछेका   उहाँहरुको दीक्षाले  सनातनी  जिम्मलबाको नाति  म सुँगुर खाने भैसकेको थिएँ । अझ  गायत्री मन्त्र पनि शायद ती दिनमा भुलिसकेको थिएँ जब सप्तरीबाट एस .एल . सी . दिएर घर आएँ ।  त्यही समय ४६ सालमा शायद राजविराजमा किनेको मोदनाथ प्रश्रितको भुत प्रेतको कथा मैले साच्चै भुतकै कथा होला भनी मजाले पढौला भनेर शायद रु ५ १० मा  किनेको थिएँ होला । त्यो पढेपछि म दुनियाको धुरन्धर आलोचनात्मक चेत भएको र वैज्ञानिक तथ्यमा मात्र विश्वास राख्ने कलेवारको आधुनिक केटो भइसकि ब्यबहार बाटनै त्यो प्रकट गर्न जनै फयाक्ने भइसकेको थिएँ । रुघामा दुध नखा पिनास हुन्छ भन्ने हजुरामालाई अँ अँ पिए पछि पि-नास हुन्छ भनिदिन्थे र भाइले पनि त्यही भन्थ्यो । हजुरामाले मलाई डाँगे भन्न थाल्नुभएको थियो र भाइलाई समेत यसैले बिगारिसक्यो भन्नुहुन्थ्यो । किन तुलसी पुजा , किन पुरोहित ले लुगा फेर्छन खाना पकाउँदा खाँदा , किन धामी काँपेको होला , दिशा बस्न लोटा लिएर जादा किन जनै कानमा हाल्ने चलन चलेको होला जस्ता कुरामा आफनै लजिक  मैले जन्माएको थिए जुनकुरा जनैलगाउने हरु मेरा बाजे भन्दा १ कोष दुर रहनु पर्ने कडा वुढाका काखैमा उलंघन हुनु असाध्य दुःख र क्षोभ थियो । किन जनै लाउने ? ” यसको वारेमा थामखर्क बा संग मलाई ४७ , ४८ को कुनै संयोगमा बाउ बाजेले सामुपारिदिए । म उम्कीन चाहान्थे तर बुवाहरुो कडा रुलिङले सकिन । उहाँहरुले संझाउनुभयो , ठुलो र बिबेकी भन्ने हो भने सनातन , वंश , समेतको जिम्मा वहन गर्नुपर्छ । जवाफमा त  आफु हाँस्ने म उहि किचक हाँसो । खुब प्रयात्न गर्नु भयो मलाइलाग्छ । थामखर्के बा वैश्वेषिक दर्शन , सांख्या दर्शन आदि वारे निकै गम्भिर दख्खल राख्नुहुन्थ्यो। तर  म जण्डु भैरहे , भैरहे । त्यसपछि उहाँ मेरा बाउ र बाजे तर्फ फर्किनुभयो , “यो वृहस्पति राम्रो भएको केटो थियो , यो सड्ने मति तिर गइरहेको छ , यसको मित ७ लाखे (मितले ७ लाख को तमसुक नास पारेर थामखर्के बा को लग भग ५० ६० हजारमा आसामी मुक्त गरेको भएर ) पनि मेरो छेउ पर्दैन आजकाल,  यो पनि अब नपर्ने भो । योग र मति उस्तै उस्तै हुन्छ र मान्छेको भेट हुने हो । बुद्धि पछि फिर्छ । पशुले धोखा खाएपछि चेत्छ अग्रज ले भनेर मान्दैन् । छोड् यस्तै हो ।" अनि मेरा बाजेको आँखामा गहीरो पीडा र बाउको आँखामा हल्का क्रोध देखे , थामखर्के बा पनि रातो रातो अनुहारमा मलाई गरिरहनुभएको थियो । उ बेला डर लागेन मलाई । आज मलाई यो तीन अनुहार कृष्ण को बिराट स्वरुप लाग्छ , डर लाग्छ , संझन्छु झल झल चेहरा उस्तैछन । झन डर लाग्छ । श्रद्धा सबै यस लेखका सदा पुज्य मेरा स्वर्गिय  पुर्वज र आफ्नो समयका गुरु स्वर्गिय थाम्खर्के बुवा प्रति ।


000


No comments:

Post a Comment