Friday, June 19, 2020

थामखर्के मामा नन्दलाल पोखरेलज्यूको स्मृतिमा : रामकुमार कार्की

रामकुमार कार्की
(अधिवक्ता)

म सानो हुँदा त्यो बेलामा ३०/४० घरको राईहरु र केही क्षेत्रीहरुको सुन्दर बस्ती थियो डिकुवा गाउँ । पाखोबारीमा घरबारी फलफुल बगैँचा थियो । बारीदेखि तलतिरको खेतको सुन्दर फाँट, खेतपछि दक्षिण तिर पूर्व पश्चिम भएर कोशी नदी बगेका मनमोहक  दृश्य छ । डिकुवा हाम्रो पञ्चायतको धान, गहुँ, मकै फल्ने उर्वर र समथल फाँट भएको ठाउँ भएको र खोटाङ्ग जिल्ला र उदयपुर जिल्लाको सिमानालाई सुनकोशीले छुट्याएको हुँदा कोशी पारी उदयपुर जिल्लाको निबुवाटार गाउँबाट पूर्व डिहि (जसलाई कुमालटार भनिन्थ्यो) डिहिबाट पूर्वमा यारी खोला दक्षिण महाभारत श्रृंखलाबाट उत्तर तर्फ बग्दै सुनकोशीमा आएर मिसिएको छ । यारीखोला तरेर रुपटार गाउँसम्म म एकपटक गएको स्मरण छ । किनकी त्यो गाउँमा मेरो बुवाको मामाको ३/४ जना छोरीहरुको विवाह भएको थियो । जो मेरा फुपु नाताका हुनुहुन्थ्यो । रुपटारबाट उत्तर पूर्वतर्फ थुम्कि, धामखर्क गाउँहरु पर्छ भन्ने सुनेको थिएँ । 

कुरो ३२/३३ सालतिरको हुनुपर्छ । म ९/१० वर्षको थिए होला मेरो गाउँ मैतन्जुबाट डिकुवा प्रा.वि. मा ४/५ किलोमिटर ओरालो हिडेर स्कुल पढ्न जान्थ्यौँ । त्यतिबेला मेरो गाउँबाट नजिकको स्कुल त्यहिमात्र थियो । त्यहाँ टाढाटाढाका गाउँदेखि विद्यार्थी पढ्न आउँथे । 

एकदिनको कुरो हो । मलाई हल्का स्मृतिमा छ । मेरो स्कुल छुट्टि हुनेबेलामा पिटी भईरहेको थियो । प्रेम गिरी र हेडमास्टर मिश्री शाह भन्ने दुवै सरहरु पिटी खेलाइरहनु भएको थियो । मेरो बुवा मैतन्जुबाट मेरै स्कुलको बाटो भएर धनहरी राईको घरमा जादैँ गर्दा उभि उभि गिरी सरसँग कुराकानी गर्नुभयो । यसै बीचमा पिटी सकियो स्कुल छुट्टिको बेल बज्यो सबै विद्यार्थी आ–आफ्नो झोला, किताब र कालो पाटी च्यापेर घरतिर लागें  । मलाई बुवाले साथीहरुसँग घर जाउ भन्दै हुनुहुन्थ्यो । मैले बुवालाई पछ्याएँ  । किनकी थामखर्के मामा धनहरी राइकोमा आउनु भएको छ । भेट्न हिंडेको भन्ने कुरा थाहा पाइसकेको थिएँ । मेरो बाल मनमा त्यो थामखर्के मामा कस्तो रहेछन्, गाउँघरमा पनि थामखर्के बाजेलाई चिना देखाउने भनेको कुराकानी गरेको सुनेको थिएँ । हाम्रो गाउँमा कान्छी फुपुको बिहेमा मेरा मामा बाजेले १५ बिस रुपिया ऋण सापटी (भनेको ३०० सय) रुपैयाँ  र दुई मुरी धान ल्याएको भनेर कुराकानी गरेको सुनेको थिएँ । हाम्रो गाउँघरमा चाडवाड कुनै विवाह, ब्रतबन्ध तथा अनिकाल र सारो गारो पर्दा अन्नपानी तथा रुपैँया पैसाको खाँचो गारो पर्दा काम चलाउनेमा मेरो गा.पा. मा दान बहादुर खत्री जसलाई जागिरे भन्थे उनीसँग र थामखर्के बाजेसँग ऋण सापटी रकम लिने गरेको सुनेको थिएँ । त्यो बेलाको वहाँहरु गरिब दुःखीहरुको बैँक जस्तै हुनुहुन्थ्यो । गिरी सर र बुवा गफ गर्दै स्कुलबाट अगाडी लाग्नुभयो म अलि पछि पछि डराउँदै पछ्याउँदै स्कुलबाट १० मिनेट जति हिडेर धनहरी राईको घरमा पुगियो । धनहरि राईको घर अगाडी अर्को काठको गुहाली घर थियो । जसको भुईतल्लामा गाई वस्तु, खसी, बाख्रा र घोडा बाध्ने गर्दथे । एकतल्ला माथि खाट कुर्सिहरु राखिएको थियो । जहाँ गन्नेमान्ने व्यक्तिहरु आउँदा सुत्नेबस्ने ठाउँ रहेछ । हामी बुवा, सर र म राईको घर पुगेपछि उक्त गुहाली माथि ८/१० जना बुज्रुक र त्यतिबेलाका प्रधानपञ्च बलमशेर राई जसलाई हामी गाउँलेहरुले साहु काईला भन्ने गर्दथ्यौँ, वहाँ पनि गफ गरी बसेको देखिनुहुन्थ्यो । प्रधानपञ्च र एक रातो वर्णको मानिस खाँटमा गुन्द्री र गुन्द्रीमाथि राडी ओछ्याएर अरु भुईमा गुन्द्री, पिरामा बसेका थिए । माथि ३/४ जना कुर्सिमा बसेका मानिसहरु थिए । बुवा र गिरी सर तलामाथि चढेर खाटमा बसेका मानिसहरुलाई नमस्कार गर्नुभयो । धनहरी राईका छोरा जन्मजय राई सर्ट र धर्के पाइजामा लगाएको गोरो कलकलाउँदो केटो जसलाई म पहिलादेखि चिन्दथें  उनी पनि खाँटको छेउमा बसेका थिए । धनहरी राई सर्ट र लुंगीमा कुर्सिमा बस्नुभएको थियो । म चाँही गुहाली माथि चढिन आँगनमा मेरो कक्षाका साथी चुडेन्द्र राई लगायतसँग अलमलिए । चुडेन्द्रलाई किताब राख्न दिएर हामी कपडाले बनाएको भकुण्डो खेल्न थाल्यौँ, चुडेन्द्र धनहरी राईका कान्छा छोरा हुन् । घाम अलिकति बाँकी हुँदा धनहरि राईको रातो घोडा दाउन भनेर वहाँको घरमुनिको बारीको लामो गरो थियो । त्यहाँ धनहरी राईले घोडा कुदाएको हेरियो । साँझ हुनलागेपछि चुडेन्द्रसँग आँगनमा जाँदा त्यहाँ ढुुंङ्गाको चुल्हा लगाएर दाउरा पानी, दालचामल, घिउ, दुध, आलु काटेको चुडेन्द्रको आमाले दिदैँ हुनुहुथ्यो । चुल्हाको वरिपरि माटो कोरेर रेखा लगाए पछि अब यता आउनु हुदैँन है केटा हो भनेर हामीहरुलाई हटाईयो हामी गुहारी माथि गयौँ, गुहालीमा अघिका मान्छेहरु थिएनन् । त्यतातिर चढेर चकचक ग¥यौँ । राती निकै भएको थियो । नन्दलाल बाजेले खाना खाँदासम्म मतानको सुुकुलमा खेल्दा थाके होला निदाएछु । राती बुवाले खाना खान बोलाउनु भयो तल झरेर हात धोए । साहुकान्छीले यो कार्कीको छोरालाई पनि भात देउ भनेर भान्छाको मान्छेलाई भन्नुभयो । गाउँले सबैले धनहरी राइ र वहाँको दाइहरुलाई साहु भन्थे । साहुँ कान्छी धनहरि राईको एकजना महिलाले सिलभरको थालमा मकैको भात मासको दाल आलुको तरकारी अलिकति फिलुङ्गको अचार ल्याएर दिईन त्यहाँ बाहिर सिकुवामा खाट थियो । त्यहि माथि बसेर खाए । बुवा आएर त्यहिँ सुत्दै गर भन्नुभयो । त्यो खाँटमा परालबाट बनेको गुन्द्री ओछ्याएको थियो । म खाना खाएर सुतेछु । राती ब्युझिँदा म एक्लै रहेछु । उडुस र मच्छरले खुन खाएछ त्यसपछि निन्द्रा लागेन कुकुर भुकिराखेका र स्याल कराएकोले मलाई धेरै डर त्रास लागेको त्यो दिन मेरो जीवनको अति स्मरणीय रहेको थियो । डिकुवा प्रा.वि. बाट कक्षा ३ पास भएपछि मेरो जीवनको यात्रा पूर्वी नेपालको धरान तिर भयो । कक्षा ४ देखि प्रवेशिकासम्म शिक्षा निकेतन स्कुल धरान तथा आइएल र बि.एल. महेन्द्र बहुमुखी क्याम्पस धरानबाट २०५२ मा अध्ययन गरेपछि । केही समय सर्लाहीको मलंगवाको व्यवसायिक बसाई र २०६३ सालको मधेश आन्दोलन पछि नेपालको राजधानी काठमाडौँमा विभिन्न पेशा व्यवसायमा संलग्न रही हाल कानून व्यवसाय गरि जीवनयापन भइरहेको छ । 

एकदिनको कुरो हो । मेरो त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल गेट अगाडी व्यवसाय थियो । मैले चिनेका एकजना मित्र नेत्र ढकाल नाम गरेका जग्गा व्यापारी मेरो पसलमा आउनु भयो । घरजग्गाको कुराकानी हुँदा घर वास्तुको सम्बन्धमा कुराकानी भयो । मेरो भक्तपुरको कटुञ्जेमा घडेरी जग्गा थियो । मैले त्यहाँ घर बनाउने विचार गरेको थिएँ । नेत्रजीले राम्रो ज्योतिष चिनेको छु भन्नुभयो । को हो त्यो ज्योतिष भनि कुराकानी हुँदा उदयपुरका धामखर्क बस्ने नन्दलाल पोखरेलको छोरा हुन् राम्रो ज्योतिष हुनुहुन्छ । वकिल पनि हुन् भनेपछि मेरो मनसपटलमा त्यो डिकुवामा मेरा बुवाले भेट्न गएको थामखर्के मामाको स्मृति भयो । अनि मैले फोन नम्बर मागेर भेट्ने समय मागे । वहाँले दिएको समयमा म आफ्नो पत्नीसमेत बानेश्वरमा भेट्न गए । भेट ज्योतिषसँग भएको चिनजान गर्दै जाँदा पहाडको कुरा डिकुवाको कुरा जन्मजय राई, धनहरि राईको कुराकानी भएपछि वहाँले पनि मेरो बुवालाई अलिअलि चिनेको आभाष गर्नुभयो । मलाई पनि भित्रैबाट धेरै वर्षपछि आफ्नै गाउँको मान्छे भेटेजस्तो आभाष भयो । हामीहरुबीचमा आउनेजाने क्रम बढ्दै गयो । हामी दुवै परिवार बिच प्रगाढ मित्रता हुदैँ गयो । यिनै मित्रले म बि.एल. पास गरी होटल व्यवसायमा लागेको मान्छेलाई कानून व्यवसायमा लाग्न ठुलो आड भरोसा दिएर उत्प्रेरित गर्नुभयो । म पनि २०६९ सालबाट पूर्ण रुपमा विस्तारै कानून व्यवसायी हुदैँछु । वहाँ हुनुहुँदो रहेछ तिनै थामखर्के मामा तथा नन्दलाल पोखरेलको साइँलो छोरा मचिन्द्रप्रसाद पोखरेल जो मेरो गुरुको रुपमा पेशामा, दाजुभाईको रुपमा व्यवहारमा सहपाठीको रुपमा काम कारोबारमा एकै स्थानमा रहि आएका छौँ । नन्दलाल पोखरेल जो गरिब दुःखिका आशाको केन्द्र गाउँघरका गरिब दुःखीहरुको लागि सारो गारो फुकाउने बैँकको रुपमा र अज्ञानीहरुको लागि कानूनी र ज्योतिषी ज्ञानका पूञ्ज मानिनु हुने मेरो बुवाले थामखर्के मामा भनेर मैले चिनेको थिएँ । 


हाल का.जि. कागेश्वरी मनोहरा न.पा. वडा नं. ७ काँडाघारी, काठमाडौँ

No comments:

Post a Comment