Saturday, July 4, 2020

सम्झनामा ठूलो बा - गुरु पोखरेल

गुरु पोखरेल
थामखर्कका नन्दलाल पोखरेल नाताले मेरो ठूलो बा पर्नुहुन्थ्यो। उमेरको हिसाबले हजुरबा जस्तो । तर ठुलोबुबासँग मेरो रगतको साईनो थियो । पछि मेरो सम्बन्ध  एक असल मित्रको जस्तो थप स्थापित समेत बन्न पुग्यो । यो मित्रताको साईनो गाँसिनुको पछाडि प्रमुख केही कारणहरु अवस्यै छन् । जतिबेला म सानो थिएँ, ठुलोबुबा एक हुल अगुवा पछुवा मान्छे सहित एक दिन हाम्रो घरमा आउनु भयो । म सानो मान्छे घरमा नयाँ मानिसहरु आएको देखेर अलिअलि डराएको थिएँ । त्यत्तिकैमा मेरो आमाले भन्नु  भयो - जाउ छोरा ! बडाबालाई जिउ गर ! म सरासर गई ठूलो बाबालाई ढोगी दिएँ  । मेरो बाबा र ठूलो बाबा एक आपसमा कुरा गर्दै हुनुहुन्थ्यो ।  कुराको विषय  मलाई थाहा हुने कुरै  भएन । यत्ति  थाहा छ - भाग्यमानी भयस नानी  चाँडै ठूलो हुनु , पछि असल मान्छे बन्नु भन्नुभएकोको मात्र याद छ । यसो भन्दै मेरो गाला मुसारेर एउटा मिठाई दिनुभयो । आमाको आज्ञापालन गर्दै त्यो मिठाई बोकेर दौडदै म फेरि आमा भएको ठाउँमा गएँ । पछि  आमालाई सोधेँ - "त्यो मिठाई दिने बडाबा काहाँको हुनुहुन्छ आमा ?" आमाले उत्तर दिनु भयो -  "थामखर्कको बडाबा ।" त्यो दिनदेखी मैले मेरो थामखर्कको बडाबालाई नजिकवाट चिन्ने मौका पाएँ ।

समय बित्दै गयो ।  बडाबा आउने जाने क्रम चलिरह्यो । ६/७ जना नयाँ मानिसहरुको लर्को देख्ने  बित्तिकै बडाबाको झझल्को आईहाल्थ्यो । गणित र ज्योतिषशास्त्रमा निकै निपुण ठूलो बासँग त्यस पछिका  दिनहरुमा निकै लामो समयसम्म सहकार्य गर्ने मौका मैले  पाएँ । ठूलो बा गणित , ज्योतिषशास्त्र र कुटनितिमा गहिरो अध्ययन गरेको एक असल, सरल र सहयोगी ब्यक्तित्व हुनुहुन्थ्यो । उहाँबाट मैले धेरै  ज्ञान सिक्ने मौका पाएँ । त्यसकारण बाप्रति  धेरैधेरै आभारी छु । ठूलो बा, तिक्ष्णबुद्धि, दुरदर्शी, साहसी , धैर्यवान र आत्मबल दरो भएको एक स्वाभिमानी ब्यक्ती हुनुहुन्थ्यो।

वेद,पुराण तथा धर्मशास्त्रको यथेष्ट  ज्ञान हाँसिल गरेको  एक सफल ब्यक्तित्व ठुलोबालाई सबै मानिसहरू  पूर्वीय दर्शनको खानी भनेर पनि चिन्थे  । मानिस जन्मिए  पछि बनाईने चिना उहाँले बच्चा गर्भमा हुँदै बनाएर (गर्भे चिना) कीर्तिमान कायम गर्नु भएको ज्वलन्त उदाहरण हामी सामु अझै पनि ताजै छ । मान्छेको मृत्युको दिन, गते, बार र समय तोक्नु भएको र त्यो पुगेको प्रमाण अहिले पनि गाउँठाउँमा प्रसस्तै छन् । खाँडीको सेतो दौरासुरुवाल , जवारिकोट र कालोजुत्ता लगाई कालै ब्याग हातमा लिएर हिँडेको करिव ५ फिट ५ इन्च अग्लो मानिसलाई निकै टाढाबाट देख्नेहरुले पनि उहाँलाई प्रष्ट  चिन्दथे। ठूलो बाको सम्पूर्ण जीवन एक अध्ययनशील, सबै खाले ज्ञान भएको, बहुआयामिक क्षमताको एउटा पृथक पहिचान र छवि बनाउन सफल भयो भन्दा पनि हुन्छ । उहाँको जानकारी र सूचनामा राज्यमा घटेका राजनितीका  घटनाक्रमहरू ताजै हुन्थे । 

राणाबिरोधी क्रान्तिमा उहाँले खेल्नु भएको भुमिका होस् वा  माओवादी जनयुद्धको आरोह - अवरोह  उहाँको जीवनका  स्मरणीय घटना बन्न पुगे । देशमा घटेका  महत्वपूर्ण राजनैतिक परिघटनाहरूको उहाँ राम्रो साक्षी र जानकार हुनुहुन्थ्यो ।  

पूर्वीय दर्शन, कलासाहित्य, राजनिति, कुटनिति , धर्मशास्त्र , समाजशास्त्र र अर्थशास्त्रजस्ता  सबै क्षेत्रको राम्रो ज्ञान र अनुभव थियो उहाँमा ।  ठुलो बाप्रती हार्दिकहार्दिक  श्रद्धाञ्जली !

000 
          
           ताप्ली गा.पा. ओडा नं ५ रुपाटार

No comments:

Post a Comment