Wednesday, June 10, 2020

मेरो शिक्षा र स्व. नन्दलाल पोखरेल : डाकबहादुर खड्का



डाकबहादुर खड्का (जलश्रोत इन्जिनियर )
(उप-प्राध्यापक , इन्जिनियरिङ्ग अध्ययन सस्थान, त्रिभुवन  विश्वविद्यालय ) 


 मेरो जन्म थलो 

उदयपुर जिल्लाको भित्री सुन्दर सानो उपत्यकाको रुपमा रहेको पहिलेको रुपाटार गाउँपालिकाको सदरमुकाम ।  हाल, ताप्ली गाउँपालिकाको सदरमुकाम  रुपाटार । रुपा र टार को मिलन रुपाटार नाम जस्तै सुन्दर छ । पवित्र  हिमालय नदी  सुनकोशीको काखमा बसेको गाउँ हाम्रा लागि अत्यन्तै आकर्षक  र प्यारो छ । यारी खोलाको जलले सिंचित  अन्नको भण्डारण  भएको  गाउँ छिमेकी जिल्ला खोटाङलाई समेत अन्न आपूर्ति गर्न सक्षम छ । जातीय हिसाबले बाहुन, छेत्री ,ठकुरी, कामी,  दमाई, सार्कीको अति सामाजिक सद्भाव र सम्बन्धमा रहेको यस ठाउँले जिल्लाभरि नै  निकै महत्त्वपूर्ण भूमिका खेलेको छ । शिक्षा र राजनीतिमा निकै अग्रपङ्तिमा रहेको यस  ठाउँले देशकै लागि भाषा,  साहित्य , राजनीति र प्राविधिक जनशक्ति दिन सक्नु सुनमा सुगन्ध बनेको छ ।

मेरो विध्यालय  शिक्षा 

वि.सं.  २०१७ सालमा स्थापित महेन्द्र रत्न माध्यमिक बिद्यालय रुपाटार, उदयपुर जिल्लाको पुरानो स्कुल हो । आजको दिनसम्म यस स्कुलले देशको लागि धेरै सक्षम जनशक्ति उत्पादन गरेको छ । देश विदेशमा रहेर आफ्नो व्यक्तिगत जीवनलाई सुखद र उन्नतिशील बनाएर बाँचेका हामी सबै मन र मस्तिष्क  देखि स्कुलप्रति  अभारी हुनैपर्दछ  । यसै स्कुलमा मेरो ८ कक्षा सम्मको अध्ययन  सकेर व्यक्तिगत कारणले सिराहा जिल्लाको जनता माध्यमिक बिध्यालयबाट माध्यमिक शिक्षा पूरा गरेँ  । तर जिवनका सम्पूर्ण  ज्ञान र उपलब्धिलाई मेरो जन्मभूमी रुपाटारका श्रद्धेय  अविभावक  र गुरुहरुमा समर्पित छ । मेरो शैक्षिक उपलब्धीको मार्गदर्शक मेरो पिता र पिता जत्तिकै मैले मान्नु पर्ने बुवा स्व. नन्दलाल पोखरेलनै हुनुहुन्छ ।

मेरो  उच्च शिक्षा र  स्व. नन्दलाल पोखरेल 

 पारिवारिक  आर्थिक अबस्था कमजोर थियो  । साधारण खेति  किसान गरेर जिविकोपार्जन गरेर दैनिकी चलाउनु पर्ने अबस्था थियो  । आँगनको स्कुल छोडेर सिराहा जिल्लाको स्कुलबाट सर्वोत्कृष्ट  विध्यार्थी, उच्च आकांक्षा  इन्जिनियर   डाक्टर बन्ने सपना बोकेर हिडेको एउटा युवा म  । कसरी लक्ष्यमा पुग्ने कुनै बलियो आधार नभएको, कति तनाव  थियो  त्यो समय ।  कुनै शब्दले ब्याख्या गर्न सक्दिनँ  । केही उपाय आउलान भन्ने सोचेर पुर्वको सुन्दर सहर धरानमा इन्जिनिरिङ्ग क्याम्पस छ भन्ने सुनेर गएँ  । त्यहाँको प्रवेश परिक्षामा सहभागी बनें  । सञ्चारमाध्यमबाट धेरै टाढा रहेको मेरो गाउँ । एक महिना भै सकेको रहेछ रिजल्ट आएर  भर्ना भएको । मेरो नाम सर्बोत्कृष्ट  अङकमा निस्केको रहेछ । सरस्वतीको आशिर्वाद, क्याम्पसले नै लागेको दस्तुर तिरेर भर्ना गरिदिएको रहेछ । कटारी आएर बुझें  फोनबाट । क्याम्पसले एक दिनको भाका राखेर क्याम्पस आउन आदेश दियो । त्यो बेलाको चिन्ता र  चाप पोख्ने कुनै शब्द छैन म सँग  । मन निकै भारी पारेर रात भरिको पैदल हिंडाई  पछि घर पुगें  । सबै कुरो बुवालाई  सुनाएँ  । बुवाको परिस्थितिले मेरा उपलब्धि अभिशाप बनेको भान भयो मलाई । क्याम्पस पुग्नुपर्ने बाध्यता । पैसाको अभाव , खर्चको जोहो गर्न नसक्दा बुवाको छ्ट्पटी । मेरो दरो भाग्य,  बिहानै टुप्लुक्क उपस्थित हुनु भयो नन्दलाल पोखरेल । सबै दुख बिसाउनु भयो  बुबाले । उदार हृदयको  खानी रु ३०००/- मेरो हातमा  राखेर ढुक्कले पढेर राम्रो प्राविधिक बन्ने हौसला दिदै मेरो बिश्वबिध्यालयको पाइला अगाडि बढाउने भगवान समानको व्यक्ति  उहाँ आदरणीय बुवा  स्व. नन्दलाल पोखरेल हुनुहुन्थ्यो  । यिनै कर्म र सेवाबाट उहाँको असली मन र मानवको परिचय पर्याप्त हुन्छ । त्यसपछि मेरो लक्ष्यको आधार बन्नु भयो उहाँ । मैले उहाँलाई नजिकबाट चिन्ने प्रयास गरें  । बिदामा घर आउँदा उहाँको दर्शन र शिक्षारुपि उपदेश लिने मेरो पहिलो लक्ष्य बन्थ्यो । उहाँलाई  पहिलोचोटि उहाँको घरमा गएर भेट्दा निकै प्रभावित बनें  । माहाभारत, गीता,  बेद, ज्योतिष बिध्याका पुस्तकालयले मेरो कलिलो मन पुरै खिच्यो । धेरै समय ती पुस्तकका बारेमा सुनेर मैले गीताको महत्व  बुझीसकेको थिएँ । त्यो भेगमा यति राम्रा पुस्तकको अध्ययन गर्ने व्यक्ति  पाउँदा मेरो ठाउँनै पबित्र बनेको ठानें  र उहाँको सम्पूर्ण ज्ञानको श्रोत पनि तिनै पुस्तक हुन भन्ने लागेर पुस्तकको अध्ययनले नै मान्छेलाई ज्ञानको ज्योति मिल्छ भन्ने लाग्यो  ।

ज्योतिष विध्यामा  स्व. नन्दलाल पोखरेल 

 उहाँ एक असल समाजसेवि को रूपमा मैले ब्याक्तिगत रुपमा चिनेको  छु । गाउँघरको भेट्घाट पछि घर पुग्न अबेला हुँदा उहाँको वास मेरो घरमैं  हुन्थ्यो । मेरो पिता उहाँको असाध्य प्यारो हुनुहुन्थ्यो । कान्छा मुखियाकहाँ  गयो, आज भेट भएन भन्दै खोज्ने उहाँको चिन्ता र चासोले बुबा प्रति को प्रेमत्यतिकै प्रतीत हुन्थ्यो । बेलुका दूध र तातो पानी पिउने उहाँको बानी मलाई  निकै मन पर्‍याे । उहाँले यस्ले स्वस्थ राख्ने कुरो गर्दा मलाई उहाँ एउटा अनुभवी बैध्य  जस्तै  लाग्थ्यो । त्यो समय यतिको अनुभव र ज्ञान भएको व्यक्ति जन्मनु समयको ठूलो उपहार जस्तो लाग्थ्यो । बेलाबेलामा मेरो चिना  हेर्नुहुन्थ्यो । उहाँले मेरो व्यक्तीगत जीवनमा छाप पार्ने बर्ष  किटेर बोलेको फलले मलाई निकै चकित बनाइरहेको छ । उहाँले भनेकै वर्ष  मैले त्रिभुवन बिश्वबिध्यालयको  स्थायी अध्यापन सेवा पाएँ  । मैले उत्सुकतासाथ सुनाएँ  उहाँलाई  । ज्योतिषको सम्पूर्ण कुरो उहाँले सुनाउनु भयो  । उहाँले मेरो बैवाहिकी जीवन पनि निकै सुसँस्कृत घरकी हुने ठोकुवा गर्नुभयो  । शारदा प्रसाद भट्टराई इलामका नामुद ज्योतिष पण्डितकि  नातिनी जमुना भट्टराईसँग  मेरो मागी बिवाह भयो । पेशाले उनी चिकित्सा क्षेत्र । एउटै बिश्वबिध्यालयको हामी प्राध्यापक र छोरी मानस्विको मातापिता । बुवा नन्दलाल पोखरेललाई  सम्झने झन बलियो आधार बन्यो मेरो जीवनमा । अनि लाग्यो त्यो भेगमा यस्तो ज्ञान भएको ब्यक्ति  उहाँनै पहिलो हो र आजसम्म पनि जन्मेको छैन जस्तो लाग्छ मलाई ।

सामाजिक रूपमा स्व. नन्दलाल पोखरेल 

 हाम्रो सामान्य  परिवार थियो ।  खेतिमा आश्रित  । छ महिना खान पुग्ने । बाँकी छ महिना धौ धौ । चाडपर्व , अडकोफडको, खोज्दा सजिलोसँग नपाइने । सबैको आस्थाका केन्द्र नै उहाँ  हुनुहुन्थ्यो । चलन अनुसारको सबैको अफ्टेरो फुकाउन आफ्नो गाउँठाउँमात्र हैन छिमेकी जिल्लाहरुमा पनि उहाँको नाम निकै चलेको थियो थामखर्के  नन्दलालको नामले । नरिसाइ सबैको अफ्ट्यारो फुकाउने उहाँको बानी थियो । झर्कोफर्को उहाँमा कहिले देखिन्नथ्यो  ।

समग्रमा स्व. नन्दलाल पोखरेल 

समय अनुसार मान्छे जन्मेको हुन्छ । त्यो बेलाको समाजका  मान्छेको सोच्ने र बुझ्ने क्षमता अनुसार मुल्यांकन र अनुमान लगाउने  हो । मान्छे भगवान होइन । भगवानबाट पनि गल्ती हुन्छन् , कमजोरी हुन्छ्न्  । उहाँ पनि मान्छे हो । कमी कमजोरी थिए  होलान्  । तर व्यक्तिको देन उसले  समाजमा कति दियो भन्ने कुरासँग  मूल हुन्छ । उसको  सहयोगमा समाज कति अगाडि बढ्यो भन्ने हुन्छ । उसको कारण समाजमा मान्छेको जीवनशैली कति सहज बन्यो भन्ने कुराले निर्धारित हुन्छ । नीतिनियम र आचारविचारको कोणबाट त्यो सानो ठाउँलाई सबैतिर परिचय गराउँने  उहाँको  योगदान कसैसँग  तुलना हुन सक्दैन  । आसा गरौं, फेरि पनि उहाँजस्तै बौद्धिक र ज्ञानी व्यक्तिबाट पल्लवित  बनोस् मेरो जन्मभूमि ।  बुवा  स्व. नन्दलाल पोखरेलमा सदैब श्रद्धा सुमन !

ooo 

No comments:

Post a Comment