Friday, September 4, 2020

हाम्रा आदरणीय थामखर्के बा - माहानन्द तिम्सीना

माहानन्द तिम्सीना

उसबेलाको थुम रामपुर भनेर परिचित तत्कालीन रुपाटार,ठानागाउँ र इनामे पँचायतहरुको इलाकामा पर्थ्यो  । थुम रामपुर भरी र  अन्य ठाउँहरुमा नन्दलाल पोखरेलको नाम अत्यन्तै चर्चामा थियो  । उहाँको बसोबास पनि टावर जस्तै डाँडा थामखर्क भन्ने ठाउँमा थियो ।

   आज भन्दा ५०,५५ बर्ष पहिला मेरो संझनामा हामी उहाँलाई थामखर्के बा  भनेर चिन्थ्यौं । पोखरेल परिवारका घरानियाहरू  मध्य उहाँ अब्वल हुनुहुन्थ्यो । ज्योतिषका ज्ञाता हुनुहुन्थ्यो । नितिका जानकार, उपदेशका खानी, सम्पत्तिका कुवेरझैं  लाग्थ्यो । जसलाई जे खाँचो छ, उसलाई  घुमाइ फीराई मागेको कुरा उपलब्ध गराइदिने  । प्राय: उहाँकोमा नगदको कारोवार कमै हुन्थ्यो । विहाबारी वा अत्यन्त जरुरी काममा किनमेल गर्ने भए मात्र नभए नगद मिल्थ्यो ।  केहीदिन पर्खाएर भए पनि समस्याको गाँठो फुकाई दिनुहुन्थ्यो  । सुनकोसी पारी खोटाङ्का  गाउँलेहरु पनि थामखर्के बा कहाँ गर्जो टारी माग्न धाउँथे । ढिलो चाँडो पाउँथे पनि । जस्ले जे  मागे पनि छैन र  हुन्न भन्ने बानी उहाँको थिएन । जेथा भएका नभएका इमान्दारी, बैमानी, धनी, गरिव कुनै भेदभाव थिएन उहाँमा । त्यसैले उहाँको पिताले उहाँलाई दिउला पाध्य भनेर पनि नाम राखिदिनुभएको चर्चा सुनिन्थ्यो  ।  उहाँले दिएरै बाँच्नु भयो अन्त्यसम्म । उहाँको सहयोगले  गरिवले खाँचो टारे, धनीले झन बढाय होलान  नै ।

म एस.एल.सी.दिन गाइघाट जानु पर्यो, घरमा खर्च थिएन । मेरो बाले भन्नु भो - 'जा थामखर्के वा सँग  गएर भन ! मैले भन्नु भन्दा तँ गएर भन्दा छिट्टै पैसा दिनुहोला ।' बाको कुरा मानेर म  थामखर्क गएँ । घरै हुनुहुँदो रहेछ । कता आइस नाती ? भनेर सोध्नुभयो । मैले आफ्नो कुरा राखें, तर उहाँ  केही पनि  बोल्नुभएन । म छट्पटिएँ । चिया खायर जा भन्नुभयो र आफैंले  चिया बनाउनु भयो ।  उहाँ र मैले चिया खायौं । अरु कुराहरु भए । म छट्पटिंदै  हिंड्न लागेँ । चिया खाइसके पछि माथी चोटामा हिंड भन्नुभयो र म सँगसँगै गएँ । पाँचवटा सयसयका  ओटा नोट हातमा राखिदिनुभयो   । म खुसिले फुरुङ्ख भएँ  । 'राम्रो गरी जाँच दे नाती' भन्नु भयो । मैले उहाँको बचन झर्न नपाउदै  हवस बा भनी उडेझैं  गरी घर आएँ  ।

मलाई विशेष मायाँ गर्नु हुन्थ्यो थामखर्के बा । हाम्रो घरमा आउँदा सधैं सोधीखोजी गर्नुहुन्थ्यो अरे । पछि म घर जाँदा नाती आएको छ भनेर यता आको भनी एक रात हाम्रो घरमा बस्नु भाको सम्झना अहिले सम्म मलाई ताजा नै छ । त्यो मैले लिएको नगद बुवाले फर्काइ दिनुभएको रहेछ । मलाई  पनी लाज भएन उहाँसँग पछि भेट हुँदा ।

    निचोडमा भन्नुपर्दा उहाँ रामपुर क्षत्रको सचेत, दुरदर्शी, परोपकारी र उदार हृदयको  व्यक्ति हुनुहुन्थ्यो । ज्योतिषको ज्ञाता र  नियम कानुनको जानकार हुनुहुन्थ्यो । सबैले मान्ने र आदर गर्ने व्यक्तित्व हुनुहुन्थ्यो उहाँ ।

हार्दिक नमनः थामखर्के बालाई ! 

000 

2 comments: