Wednesday, May 27, 2020

विनम्र व्यक्तित्वका धनी नन्दलाल मामा - विश्वराज ढुङ्गाना

विश्वराज ढुङ्गाना


सामाजिक परिवेशमा इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्दै परिवारको जिम्मेवार अभिभावक बनेका केही मानिसहरू समाजमा पनि मर्यादित जीवन बाँचेका हुन्छन् । अन्य मानिसले पनि बाँच्ने क्रममा ती असल चरित्र भएका मानिसहरूको सहयोग पाएर जीवनमा केही न केही राहत पाएका हुन्छन् भने ती सहयोगी मानिसहरू धन्य हुन्छन् । किसानको जीवनशैली अपनाएर उत्पादनमूलक गतिविधिमा निरन्तर लाग्दै अनुकूल समयमा समाजलाई मार्गदर्शन गर्ने सदाचारी व्यक्ति त्यो समाजको धरोहर हुन्छ । त्यस्तो व्यक्तिले जीवनमा गरेका विविध सुकर्मबारे पछिल्लो पुस्तालाई जानकारी गराउनु तिनीहरूका सन्तती तथा समाजका असल मान्छेको पनि कर्तव्य हुन आउँछ । यस सन्दर्भमा स्व. नन्दलाल पोखरेलको सम्झनास्वरूप उहाँका सुपुत्र मातृका पोखरेलको सक्रियतामा स्मृति–ग्रन्थ प्रकाशन गर्न लागिएको जानकारी मैले पनि पाएँ । स्व. पोखरेललाई सम्मान गर्दै श्रद्धाञ्जली स्वरूप म उहाँसँग सम्बन्धित केही सुनेका र भोगेका संस्मरणहरू प्रस्तुत गर्छु ।

उदयपुर जिल्लाको साबिक ठानागाउँ गा.वि.स., हाल ताप्ली गाउँपालिका, वडा नं. ४, थामखर्क निवासी स्व. नन्दलाल पोखरेल मेरा मामा हुनुहुन्छ । राइटर कुलप्रसाद मेरा मामा तथा मेरी ठुल्यामा धनकुमारीका पिता हुनुहुन्थ्यो । त्यसैले होला, ठुल्यामालाई मातृकुलसँग जोडेर मेरा पिताजीहरू ‘रैटरकी छोरी’ भन्नुहुन्थ्यो रे । ठुल्यामाको सासूसँग सम्बन्ध सुमधुर नभएकाले अलि बढी समय माइत बस्नु नै उहाँको सौता पाउने योग्यता ठानिएको थियो रे ! 

मामा नन्दलाल पोखरेलले संस्कारित जागिरे परिवारको छोरो तथा हुनेखाने वर्गमा पर्ने भएकाले बेलैमा पढ्नका लागि काठमाडौं जाने अवसर पाउनुभयो । त्यहाँ उहाँले घरेलु व्यवहारमा चाहिने लेखापढी र गणितको नयूनतम ज्ञान हासिल गर्नुभयो । सामान्य जागिर खानका लागि गणित, स्रेस्ता, कानून र लेखापढी गर्ने सीप सिकाइन्थ्यो । त्यो खालको पढाइलाई राणाकालमा चार पास भनिन्थ्यो । त्रिचन्द्र कलेजको स्थापनाभन्दा पहिले हुनेखाने र संभ्रान्त परिवारका व्यक्तिहरु मात्र स्कूलतहभन्दा माथिको शिक्षा हासिल गर्न हिन्दुस्तान जान्थे । त्यसपछि पनि उपत्यका र वरपरका बासिन्दा मात्र काठमाडौंमा पढ्थे । अन्य क्षेत्रका नेपालीका लागि लखनउ, बनारस, पटना र कलकत्ता उच्च शिक्षा हासिल गर्ने मुख्य शहर थिए । काठमाडौंबाट फर्केपछि साथीभाइको सङ्गत र आन्तरिक हुटहुटीले उहाँलाई बनारस पु¥यायो । त्यहाँ ज्योतिषको आधारज्ञानसहित अंकगणितमा दक्षता पनि हासिल गर्नुभयो । पछिल्लो कालमा मेरा रूपाटारतर्फका साथीहरूले मलाई उहाँ अंकगणितका सबैखाले समस्या समाधान गर्न सक्नुहुन्थ्यो भन्ने सुनाउँथे । त्यो कुरा उनीहरूले आफूले पढ्ने गरेको अङ्कगणितका समस्या हल गरेको देखेर नै बताएका हुन् । सचेत बाबुको छोरो भएकाले नै उहाँले परदेश गएर पढ्ने सुविधा पाउनुभएको थियो । बनारस गएर पढेपछि नन्दलाल मामा ज्योतिष शास्त्रका राम्रै  ज्ञाता हुनुभयो । 

नेपालका वरिष्ठ साहित्य र भाषाका साधक स्व. प्रा. बालकृष्ण पोखरेल पनि नन्दलाल पोखरेल परिवारका निकटस्थ भाइ हुनुहुन्थ्यो । उहाँले मसँग आफ्ना पूर्वजको इतिहास बखान गर्ने सन्दर्भमा भन्नुभएको विवरण यसप्रकार थियो -

जतनपुर शाखा भएर फैलिएको पोखरेल वंशको नालीबेली केलाउँदै जाँदा उहाँले २२ हाँगा फेला पार्नुभएको थियो । ती हाँगामध्येका रूपाटारका पोखरेल खलक तुलनात्मक रूपमा पढेलेखेका र जागिरे थिए भने चारङका पोखरेल धनी थिए । गोरखालीहरूको पूर्वी भूभाग अधीनस्थ गर्ने अभियानमा ती सचेत पोखरेल परिवार भने सम्मिलित भएनन् । उनीहरू पूर्ववर्ती शासकका पक्षधर बनेका थिए । आफूले समर्थन गरेको शक्तिको पराजयले तिनीहरू अतालिए । गोखाली सैनिकको गोर्खेलौरी (शत्रु पक्ष वा असहमत पक्षलाई विशेष किसिमको लट्ठी प्रयोग गरेर दिइने अमानुषिक कष्ट) को पीडाबाट जोगिन त्यो समुदायका मानिसहरु तितरबितर भए । कोही अरुणपारि पुगे, कोही सुखिम (सिक्किम) पसे, कोही भोटाङ (भुटान) छिरे भने कोहीचाहिँ आसाम भासिए । पछि एकीकरण अभियानको राँको निभ्दै गएपछि जिल्लामा बडाहाकिम भएर आउने कुनै व्यक्तिले रामपुर थुम (निकैवटा गाउँ भएको खास क्षेत्र) मा लेखापढी जान्ने मानिसको अभाव महसुस गरे । सरकारी कामकाजमा पनि असहज अवस्था पैदा भएको ठानी उनले श्री ५ लाई ती मुग्लान भासिएका मानिसहरूलाई पुरानो खाइनपाइन समेत फिर्ता गर्नेगरी ससम्मान बोलाउनको लागि अनुमति माग्दै सदरमा पत्र पठाए । त्यो बिन्तीपत्रको सकारात्मक जवाफ आयो । अनि ती बडाहाकिमले विदेशिएका पोखरेल बन्धुहरूलाई मुलुक फर्काउने पहल गरे । त्यसरी त्रासमुक्त बनेर अलि छिटो फर्कनेले खनजोत गरी खानको लागि तराईमा जङ्गलको हिस्सा पनि पाए । अलिक ढिलोगरी फर्कनेले सरकार लागेको पुरानो जेथा फिर्ता पाए । त्यसरी चलअचल सम्पत्ति फिर्ता पाउने परिवारको समूहका सन्ततीमध्येका हुनुहुन्थ्यो नन्दलाल पोखरेल ।

त्यो समयमा पोखरेल कुलमा नन्दलाल नाउँ गरेका व्यक्ति अरू पनि थिए । एकजना मामाभन्दा अघिल्लो पुस्ताका धपिनीवासी नन्दलाल पोखरेल पनि उहाँहरूकै वंशका प्रतिष्ठित व्यक्ति थिए । नातामा पनि उनी मामाका दाजु पर्थे । उनले पनि समाजमा निकै हल्लीचल्ली गरेका थिए भन्ने सुनियो । कवि लोकनाथ पोखरेलले लोकञ्जरीमा ती नन्दलालको निकै बढाइँचढाइँ गरेर लेखेका छन् । अघिल्ला नन्दलालको जीवनको सन्ध्याकालमा पछिल्ला नन्दलालको उदय भएको हो ।

नन्दलाल मामा युवावस्थाको हुँदा छिमेकमा रहेका ठकुरी ठालुहरूको रापताप उत्कर्षमा थियो । ठकुरीमा पनि निर्भय र नैनध्वज ठकुरीको बोलाबाला बढी नै थियो । उनीहरू समाजमा धाक जमाउन मुद्दामामिलामा बढी नै संलग्न रहन्थे । आफ्ना छिमेकमा रहेर व्यक्तित्व उठाउन खोज्नेलाई तह लगाउन कुनै ठालु जातभात, ज्यान, गाथगादी आदि कुरासँग गाँसेर मुद्दा लगाउँथे भने कोही अलिक परका मान्छे हात लिएर शत्रु पक्षका घरमा डाका लगाएर सम्पत्ति लुटाउँथे र आफू पनि हिस्सा खान्थे । एकपटक तिनै ठकुरीमध्ये एकजनाले मेरा बाजे अर्थात् मामाका पिताजीलाई असहज लाग्ने खालको आरोप लगाएर मुद्दा हालेछन् र साक्षीचाहिँ मेरा पिताजीलाई राखेछन् । पछि मेरा पिताजीले आफ्ना ससुराले कुनै अकर्म नगरेको भनी अदालतमा बयान दिनुभएछ । साक्षीको बयानले गर्दा त्यो मुद्दामा बादीको दाबी पुगेनछ र हजुरबाले राहत पाउनुभएछ । 

नन्दलाल मामासँग मेरो खासै भेराइँचो सम्बन्ध थिएन । उहाँका जेष्ठ सुपुत्र पूर्वन्यायाधीश सीताप्रसाद पोखरेल मेरा सहपाठी बन्नुभयो, कक्षा ९ मा पञ्चावती हाईस्कूल उदयपुरगढीमा पढ्दा । स्कूलमा पढुन्जेल उहाँसँग दाजुभाइको सम्बन्ध कायम रह्यो । दुवै जना २०२५ सालमा एसएलसी परीक्षा उत्तीर्ण भयौं । उदयपुरगढीमा जिल्लाको सदरमुकाम हुँदा मामा सरकारी अड्डामा काम परेर बारम्बार गइरहनुहुन्थ्यो । तत्कालीन भूमिसुधार अधिकारी सुदर्शन बहादुर सिंह उहाँको छिमेकी गाउँका ठालु तथा उहाँको पिताजीलाई मुद्दा हाल्ने नैनध्वज ज्यू ठकुरीका कान्छा छोरा थिए । उनी उदयपुर जिल्लाबाटै एमए उत्तीर्ण गर्ने पहिलो व्यक्ति भन्ने सुनेको हुँ । जिल्लास्तरीय सामान्य ज्ञान पुस्तकमा भने उनको नाउँ छ कि छैन, थाहा भएन । पुख्र्यौली द्वन्द्वको कारणले हो वा अर्को कुनै विषयको मतभिन्नताले गर्दा हो, उनी र मेरा मामाका बीच सौहाद्रपूर्ण सम्बन्ध थिएन भन्ने चर्चा म विद्यार्थी छँदा सुन्थे । ती हाकिमले काम गर्ने भूमिसुधार कार्यालय स्कूलनजिकै थियो । त्यसैले साना कुरा पनि हामी सुन्न पाउँथ्यौंं । मैले ती राजसी स्वभावका बाबुसाहेबलाई बाक्लै देखें । उनी स्कूलको चौरीमा ब्याडमिन्टन पनि खेल्थे । त्यो खेल अरू कोही खेल्दैनथे । त्यो खेलले पनि उनको सामाजिक स्तरको परिचय दिन्थ्यो । मेरो नजरमा उनी ठूला मान्छे थिए ! पछिल्लो जीवनमा भने उनीसँग कहिल्यै सम्पर्क भएन । उनी राजदरबारको भक्ति गाउने नातेदार पंक्तिमा पर्थे । त्यसैले जिल्लाका तत्कालीन सहायक अञ्चलाधीश (बडाहाकिमको सट्टामा प्रयुक्त शब्द) मङ्गलकृष्ण श्रेष्ठ उनीसँग निकै दब्थे र अरूमाथि भने कठोर बन्थे । उनी पढाइलेखाइ नभएतापनि काबिल प्रशासकमा गनिन्थे । मामाको ज्योतिष ज्ञानले उनलाई प्रभावित पारेको कुरा मेरो कानसम्म पनि आइपुगेको थियो । सुने अनुसार उनी मामालाई उच्च मर्यादा दिएर व्यवहार गर्थे । शायद मामालाई हाकिम सुदर्शनजीको आतङ्कबाट अवश्य केही राहत मिल्यो होला ! उनका छोरा ओमकृष्ण श्रेष्ठ मेरा सहपाठी थिए । उनलाई ज्योतिषी बाजे मेरा मामा तथा सीताप्रसाद दाइका पिताजी भएको थाहा थियो । ती साथीबाट पनि मामा उनीहरूको आवासमा आउनेजाने गरेको कुरा म जानकारी पाउँथे । ती साथी पढाइमा कमजोर थिए । त्यसैले उनी मसँग गणित र नेपाली सिक्न दैनिकजसो मेरा डेरामा आउँथे । मित्रता गाढा नै थियो । एसएलसी पढुन्जेलसम्म अत्यन्त निकट बनेका उनी र मेरो फेरि कहिल्यै भेट हुनसकेको छैन । एकअर्कालाई बासस्थानको ठेगाना पनि थाहा छैन । एउटा साथी कहाँ होलान्, के गर्दै होलान् भनेर थाहासम्म नपाउनु पनि अचम्म नै हो नि !

म बी.ए. जाँच दिएलगत्तै २०३० साल वैशाखमा पञ्चावती हाईस्कूल उदयपुरगढीमा शिक्षक पदमा नियुक्त भएँ । म शिक्षक भएको मामाले थाहा पाउनुभएछ । कुन वर्ष थियो, मलाई सम्झना भएन । उहाँले मातृका पोखरेलका हात मलाई चिठी पठाई छोराको पथप्रदर्शनमा सहयोगी बनिदिन आग्रह गर्नुभएको थियो । त्यो चिठी मातृकाले नै मलाई दिएका थिए । त्यो दिन मैले मातृकालाई बिहानको समय पारेर मेरो डेरामा नजानेका विषय सिक्नका लागि आउन भनेको थिएँ । उनी मकहाँ कतिको आए, ऐले मलाई त्यो कुराको हेक्का रहेन । पछि म त्रिवेणी हाईस्कूल कटारीमा सरुवा भई गएँ । मातृका पनि पञ्चावती हाईस्कूल छाडेर त्यहीँ नै पढ्न गए । 

२०४० सालतिर हुनुपर्छ । एकदिन मामा रिस्कूमा रहेको मेरो घरमा आउनुभएको सम्झना छ । उहाँको विशेष काम के थियो थाहा भएन । केही काम भए पनि मेरा जेठा दाजु चन्द्रप्रसादसँग थियो होला । मैले उहाँसँग लामो वार्तालाप गर्न पाइनँ । उहालई कतै जान हतार नै भएको बुझिन्थ्यो । खाना खाएपछि धेरैबेर नबसी विदा हुनुभयो । उहाँले अर्को पटक अलिक लामो समय बस्ने गरी आउने कुरा पनि गर्नुभएको थियो । केले हो, त्यो अनुकूलता फेरि मिलेन । मैले त्यो बेला देखेका मामा साह्रै पातलो ज्यानको हुनुहुन्थ्यो । जीवनको उत्तरार्धमा उहाँ सुहाउँदिलो मोटो देखिनुहुन्थ्यो भन्ने सुनेको थिएँ ।  

मामाको बारेमा मलाई मेरी आमाले सुनाएको एउटा घटना मेरो स्मृतिमा ताजै छ । त्यो यसप्रकार थियो -
मेरी ठुल्यामाले पतिको घरमा भन्दा माइती घरमा नै बढी बस्ने गर्नुहुन्थ्यो । विवाहित जीवनको पहिलो खुट्किलामा छँदा नै एउटी छोरीकी आमा बन्नुभएको् थियो ठुल्यामा । उहाँले छोरीको बिहे पनि माइती घर थामखर्कबाट नै गर्नुभएको थियो । कन्यादान गर्न मेरा माहिला ठूलाबा नरनाथ उपाध्याय जानुभएको थियो । ससुरालीमा गएर छोरीको कन्यादान गर्नु प्रतिष्ठाको विषय हुँदैनथ्यो र अहिले पनि नहोला । त्यसैले मेरा पिताजी आफ्नी छोरीको बिहेमा त्यहाँ नजान बाध्य हुनुभयो । समयक्रममा मामाका दुईटी श्रीमती अल्पायुमा नै स्वर्गे भएकाले माइती घरमा नै बसेकी मेरी ठुल्यामाले ती मातृविहीन बालबच्चाको संरक्षण गर्ने दायित्व लिनुभयो । त्यसपछि मामाले उमेरमा निकै अन्तर भएकी खोटाङ जिल्लाको खोक्सेली गाउँका डिल्लीप्रसाद दाहालकी छोरी कन्या बिहे गर्नुभयो । कम उमेरकी श्रीमतीबाट घर चलाउन सहज हुँदैनथ्यो । त्यसमाथि पनि कलिलै हुँदा लगातार आमा बन्ने महिलाका लागि ठूलो घरको व्यवहार धान्न मुस्किल परेको अवस्थामा भाइको घर थामिदिनु ठुल्यामाको कर्तव्य बन्न गयो । २०१४ सालतिर ठुल्यामाले मामा लगायत छिमेकी ठालुलाई मेरा पिताजीबाट आफूलाई जीविकाको मेलो दिलाइदिन अनुरोध गर्नुभएपश्चात् ती स्थानीय ठालुसहित मामा, ठुल्यामा तथा उहाँका छोरीज्वाइँ आदि समूह बनेर हाम्रो घरमा आउनुभएको थियो । मामा र मेरा पिताजीले घरको बाहिरको सुरको एकापट्टि एकान्त बसेर वार्तालाप गर्दा मेरी आमाले अर्कोपट्टिबाट सुन्नुभएको रहेछ । आमाले मलाई सुनाएअनुसार त्यो बखत मामाले भनेको बेहोरा यस्तो थियो, “भिनाजु, तपाईंले हाम्रो परिवारलाई नै ठूलो गुन लगाउनुभएको छ । म र मेरा सन्ततीले पनि तपाईंको गुन यस जन्ममा तिर्न सक्तैनौं । दिदीलाई जीविकाको लागि जे जति दिनु न्यायोचित लाग्छ, दिनुहोला । मेरो तर्फबाट कुनै अप्ठेरो मान्नु पर्दैन । यी दिदीले माइतमा रहेर पनि केही पेवा धन जम्मा गरेकी छन् । मैले नै त्यो धन लगानी लगाएर बढाउने काम गरिदिएको छु । दिदीलाई पुग्ने उहाँको जेथा त उतै पनि छ । उहाँ सबै जेथा छोरीलाई दिने सोचमा हुनुहुन्छ । केही समयदेखि मेरा भान्जी र भान्जेज्वाइँ पनि मेरै घरको ग्वालीमा बस्नुहुन्छ ।”

सत्कर्मको कदर गर्ने सुपात्र ब्राह्मण हुनुहुन्थ्यो - मामा स्व. नन्दलाल पोखरेल । उहाँको आर्थिक अवस्था उच्च मध्यमवर्गको हैसियतको थियो । आफ्ना धेरै सन्ततीको संरक्षण गर्ने जिम्मेवारी उहाँका काँधमा थियो । तर पनि, उहाँ मानिसहरूको आर्थिक गर्जो टार्न सम्भव भएसम्म सहयोगी बन्नुहुन्थ्यो । छरछिमेकका गाउँलेहरू ठकुरी जातिका ठालुहरूको रापताप सहन विवश थिए । त्यो कहालीलाग्दो समयमा आर्थिक कठिनाइमा फसेका मानिसहरूका लागि उहाँको व्यवहार भने नौनीघिउसमान हुन्थ्यो । छरछिमेकी गाउँबाहेक उहाँको सदाशय प्राप्त गर्ने मान्छे सुनकोसी उत्तरको हलेसीथानसम्मका हुन्थे । उहाँलाई असल मान्छे भन्थे । यसरी उहाँले समाजका निर्धन समुदायको मन पनि जित्नुभएको थियो । उहाँको व्यवहार रापिलो आगो होइन, मट्टितेलले बल्ने सानो धातुको डिबियाजस्तो थियो । डिबिया राप र ताप खासै दिँदैन, तर प्रकाश भने वरिपरि छर्छ ।
मेरा मामालाई मैले हृदयदेखि नै कद्दर गर्ने मूल पक्षचाहिँ उहाँको शिक्षाप्रतिको चासो नै थियो । स्थानीय प्राथमिक तहको विद्यालयको स्थापनामा उहाँको योगदान प्रशंसनीय थियो भने माध्यमिक तहसम्म विद्यालयलाई स्तरोन्नति गर्ने काममा पनि उहाँ सदा सक्रिय रहनुभयो । उहाँले आफ्ना सन्तानलाई विद्यालयस्तरको मात्र होइन, उच्च तहको शिक्षा दिलाउन पनि कुनै कसर राख्नुभएन । एउटा असल अभिभावकले गर्ने उच्चकोटिको दायित्व उहाँबाट निर्वाह भएको कुरा म सगौरव उल्लेख गर्दछु । आफू ज्योतिषविज्ञ भएकाले पनि सन्ततीलाई ज्योतिषको न्यूनतम शिक्षा दिन उहाँले चासो राख्नुभएको थियो । अहिले मचिन्द्र  भाइले पिताजीको ज्ञानको थोरैतिनु प्रयोग गरेको थाहा पाउँदा मलाई पनि खुसी लागेको छ ।

एकपटक उहाँले मैले लेखेको ‘सरल रामायण’ को बारेमा कसैबाट जानकारी पाउनुभएछ । स्थानीय विद्यालयमा पढाउने शिक्षकका हात मलाई एउटा पुस्तक पठाइदिन अनुरोध गर्नुभएको खबर पाएँ । मैले तिनै शिक्षकका हात पुस्तक पठाइदिएँ । त्यसैताक मामाको चिनो भनेर एउटा ज्योतिषको आधार ज्ञान भएको पुस्तक पठाइदिन अनुरोध गरी चिठी लेखेको सम्झना छ । धेरै पछि थाहा पाएँ, मामाले मलाई पठाइदिएको पुस्तक ती शिक्षकले मेरो हात पारेनन् । घरै लगे कि हराए, उनै जानून् !
सकारात्मक सोच भएका मेरा मामा १०० वर्ष पुग्नुभन्दा तीन वर्ष पहिले यस धराधामबाट विदा हुनुभयो । 

000 

No comments:

Post a Comment