Friday, June 12, 2020

मान्छे काढ्ने र काढिने समयको कुरा : राधा तिम्सिना

राधा तिमल्सिना
पूर्व सांसद / संविधान सभा सदस्य 

त्यो समय  नन्दलाल पोखरेल र थामखर्क भन्ने ठाउँ पर्यायवाची जस्तै थियो । नन्दलाल पोखरेलमा विलक्षण प्रतिभा थियो । उहाँलाई सबैले थामखर्केको नामबाट चिन्दथे । नन्दलाल पोखरेल प्राज्ञिक, बौद्धिक र समाजसुधारक समेत थिए । मैले थाहा पाउँदासम्म त्यहाँ ठकुरीहरुको राज चल्थ्यो र डिठ्ठा नयनध्वजको आतंकले  एकप्रकारले राज गरेको थियो । कसैलाई झुट्टा मुद्दा लगाइदिने, कसैलाई जातच्युत गरिदिने, कसैको बासै उठाइदिने देखि कतिको त लासै बेपत्ता पारिदिने जस्ता कुकर्म सबै उनकै भागमा परेको जस्तो अनुभूती हुन्थ्यो । त्यतिखेर उसको धान रोप्न,कोदो रोप्न,गोड्न, बालिनाली उठाउन सबै गाउँलेले आफ्नो कामै छाडेर जानै पर्थ्यो, नगए जग्गाको तिरो नबुझिदिने र दु:ख दिने गर्दथे । यस्ता कुख्यात सामन्तीसँग वैधानिक लडाइँ लडेर जनतालाई राहत दिने कामको पहिलो नेतृत्व त्यस ठाउँमा नन्दलाल पोखरेलले नै गरे ।


ज्योतिषशास्त्रमा नन्दलाल पोखरेलको राम्रो दखल थियो । कहिलेकाहीं हाम्रो घरमा पनि ज्योतिषशास्त्रको शास्त्रार्थ चल्थ्यो । ज्योतिषमा पनि श्लोक हुँदोरहेछ । मलाई पनि त्यसबेला एउटा श्लोक कण्ठस्थ भएको थियो -
सुर्याष्ट पञ्चाग्नी रसाष्ट नन्दा
वेदङ्का शप्तासी गजाङ्क शैला ।

यसको अर्थ मलाई अहिलेसम्म थाहा छैन । तर अहिलेसम्म पनि श्लोक चाहिँ संझना छ । नन्दलाल पोखरेल मेरो बाको ज्योतिषशास्त्रका गुरु हुनुहुन्थ्यो । मेरो बा आफ्ना गुरुहरुलाई सारै आदर गर्नहुन्थ्यो ।

२००७ सालतिर नन्दलाल पोखरेललाई आफ्नै दाजुभाइले काढेका रहेछन् । काढ्नु पर्ने विषय चाहिँ सातसालमा स्थानीय आन्दोलनको नेतृत्व अर्जुन भट्टराईले गरेका रहेछन् । नन्दलाल पोखरेलले उनलाई सहयोग गर्‍यो अर्थात उनले छोएको भात खायो भन्ने निहुँ बनाएर काढेका रहेछन् । शायद, नन्दलाल पोखरेललाई काढ्नु पर्छ भन्ने कामको नेतृत्व डिट्ठा नैनध्वज ठकुरीले गरेका हुनसक्छन् ।

उतिखेर नुन लिन मुक्सार जानूपर्थ्यो । उताबाट भरियालाई नुन,फलाम, मट्टितेल र अन्य आवश्यक बस्तु लिएर उहाँ आउँदै र हाम्रो बा (छबिलाल तिमल्सिना) जाँदै गरेको बेला  बाँस बस्ने ठाउँ साँघुरी दोभानमा दुवैको अप्रत्याशित भेट भएछ । उहाँहरू संगै खाना खाएर एकैठाउँमा सुत्नुभएछ । तर खाना भने हाम्रै बाले पकाउनु भएको रहेछ । स्वभाविक कुरा थियो कि चेला हुँदाहुँदै गुरुले पकाउने कुरा पनि आउँदैनथ्यो ।

हाम्रो बा हाट भरेर कति दिनमा घर आइपुग्दा आफ्नै दाजुभाइले नन्दलालले पकाएको छबिलालले खायो रे भनेर काढिसकेका रहेछन् । त्यही बेला मेरो दिदीको न्वारान गर्ने पुरोहित नपाएर आफैंले पढेर फुको दक्षिणा दिएर पुरोहितलाई भात नखुवाई पठाउनु परेको पीडा मेरो आमा मलाई वारम्बार सुनाउनुहुन्थ्यो । त्यो बेला उता के के कारणले हो थुम्कीका हरिप्रसाद भट्टराईलाई पनि समाजले काढेको रहेछ । त्यसैबखत उहाँको पनि छोरा लोकनाथ भट्टराईको व्रतवन्ध गर्ने मान्छे नपाएर आपतमा परेपछी काढिएकै मान्छे हाम्रो बालाई लगेर व्रतवन्ध गराएको रोचक प्रसंग अहिलेको पुस्ताका लागि कम रोमाञ्चक हुँदैन । हार्दिक श्रद्धासुमन थामखर्के नन्दलाल पोखरेललाई !

ooo 

No comments:

Post a Comment