Friday, September 4, 2020

सम्झनामा दशैँको नवमी र नन्दलाल बा - रस्मिला दाहाल

रस्मिला दाहाल


म रस्मिला दाहाल  थामखर्के नन्दलाल हजुरबुवाको साहिँलो दाजु मिन प्रसादको छोरा नरनाथको जेठी छोरी उमा दाहालकी  छोरी । थामखर्के हजुरबुवा (मेरो जिजु हजुरबुवाको) बारेमा धेरैले संस्मरण लेखेको पढ्दा मलाई पनि कता कता लेखूँलेखूँ लाग्यो ।

उहाँको बारेमा मलाई अरुलाई जस्तो धेरै ज्ञान त छैन तर उहाँको वारेमा एउटै प्रसंगमा लेख्न चाहान्छु त्यो हो दशैको नवमी । प्राय : दशै आउँदा गाउँ–घरको रौनक नै फेरिएको भान हुन्थ्यो । चारैतिर पात टिप्ने, चिउरा कुट्ने, धान चामलको जोहो गर्ने आदी काममा ठुलावडा व्यस्त हुन्थे  भने हामी साना केटाकेटी पीङ खेल्ने र मिठा – मिठा खानेकुराप्रति आकर्षितहुन्थौँ । वर्षैपिच्छे मेरो पनि  महानवमीका दिन नन्दलाल बाको घरमा नौ कन्या मध्ये एक कन्या भएर पुजिने दिन आउँथ्यो । त्यो दिन मेरो लागी ज्यादै खुसीको दिन हुन्थ्यो । किनकी वर्षमा एक चोटी नयाँ कपडा फेरिने र त्यो कपडा लगाउँदै बाको घरमा गएर मिठामिठा परिकार ग्रहण गर्दै पुजिने दिन थियो ।  हजुरबुवा वर्षै पिच्छे वनदुर्गाको रुपमा नवमीका दिन नौ कन्याको पूजा नगरी प्रसाद ग्रहण गर्नु हुँदैनथ्यो । त्यसैले महानवमीका दिन मलाई कतिवेला उज्यालो हुन्छ र नन्दलाल बाको घरमा जाने भन्ने हतारो  हुन्थ्यो । त्यतिवेला नयाँ  कपडा फेरेर थामखर्क तिर कन्या साथीहरु सित उकालो लाग्दाको खुसी आजसम्म पनि मैले भुल्न सकेको छैन ।

मेरो बसाई जतनपुर पहिलेको मामा घर पछि हुनपुग्यो । जतनपुरवाट अभिभावक सहित घुमन्टार, देवीथान हुँदै बाको घर पुगिन्थ्यो । देवीथान त्यहाँको वासिन्दाहरुको ठुलो आस्थाको केन्द्र थियो तर एकान्त स्थानमा भएको हुँदा मलाई त्यहाँवाट आवत–जावत गर्न खुबै डर लाग्थ्यो । 

हामी अभिभावक सहित जाने  भएको हुनाले दर्शन गरेर मात्र बाको घरतर्फ लाग्थ्यौं । नवमीको दिन बाको घरको पूजाआजाले ठुलै रौनक जमाउँथ्यो । ठुला – ठुला घ्याम्पामा भएको पानी, मिठा मिठा परिकार, फलफुलको दृश्यले घरलाई वेग्लै सिंगारेको हुन्थ्यो । त्यस माथी हामी नौ कन्यालाई नौ दुर्गाको रुपमा इज्जत गरिन्थ्यो । साना – साना भएता पनि हामी भए सम्म राम्रा पहिरनमा सजिएका पुतली जस्ता सवैका माया र आकर्षणका केन्द्र  हुन्थ्यौ । त्यसमा पनि म 'गीत गाउ नानी' भन्दा गाइहाल्ने भएको  हुनाले मलाई सवैले स्नेह गर्दै काखमा लिनुहुन्थ्यो ।

नवदुर्गाको रुपमा जब  हामी सवै कन्यालाई लहरै राखेर पुज्ने समय आउँथ्यो । मेरो ध्यान चाहिं  परिकारहरु प्रति नभै श्रृंगारको रुपमा दिइने गम्छा र दक्षिणाप्रति हुन्थ्यो । यो सायद वालतृष्णा होला । हजुरवुवा, हजरआमा लगायत त्यहाँका इच्छुक मान्यजनहरुले गोडाको पानी खाएर हामीलाई पुजा गर्दा साँच्ची नै हामी कतै देवता त होइनौं  भन्ने भान हुन्थ्यो । पूजाको सबै विधि समाप्त भएपछि प्रसाद र दक्षिणा ग्रहण गराएर अन्त्यमा गम्छा ओडाएर रङ्गीचङ्गी पारिदिनु हुन्थ्यो । त्यति बेला बल्ल दशैं  आएको महसुस हुन्थ्यो तर मेरा ध्यान भने गम्छा र दक्षिणामा मात्र हुन्थ्यो  । हजुरवुवाले मलाई नातिनी प्रसाद ग्रहण गर भनेर मायालु भावले भन्नुहुन्थ्यो तर म भने कतिवेला आफ्नो गम्छा देखाऊ भन्ने आतुरमा हुन्थे र बा  म घरमा नै लगेर खान्छु भनेर ढिपी गर्थें।  झटपट त्यहाँबाट वाटो तताएर घरतर्फ प्रस्थान गर्थे । यी दिनहरु म नौ वर्ष नपुगुन्जेलसम्म चलिरहेको थियो । कन्याको उमेर भनेको नौ वर्ष सम्म मात्र हुन्थ्यो त्यसैले  मलाई सधैं  खुसि मिल्ने दिन (महानवमी) का लागी कहिल्यै नौ वर्ष नकटोस् भन्ने लाग्थ्यो । मैले नौ वर्ष सम्म नै बाको हातवाट पुजिने अवसर पाएँ । यसमा मलाई ज्यादै गर्व लाग्थ्यो ।
 
बाले मलाई जहाँ भट्दा पनि मायालु भावमा नातिनी भनेर सम्वोधन गर्नुहुन्थ्यो र बाको घरमा जुनवेला पुग्दा पनि 'नातिनी भोकाएर  आयौ होला केही  त खानुपर्छ' भन्ने यो बाको ठुलो गुण थियो । समयको वहावमा को कता पुगीयो को कता तिर तर पनि जव दशैँको नवमीको दिन आउँछ म आफुलाई त्यहि ७/८ वर्षकी फुच्ची जामा लगाएर पुतली जस्ती हजुरबाको अगाडी उभिएको पाउँछु  । त्यसबेला पनि मेरा अतृप्त आँखाहरु उत्तरतिर तिनै पहाडका चुचुराहरुमा उतै थामखर्कलाई र हजुरबालाई नै खोजिरहेका हुन्छन् ।

   त्रि.न.पा.– ३, उदयपुर
फोन  :  ९८४२८३८४३६

1 comment: