Saturday, May 30, 2020

स्मृतिमा मूलघर बा - अनिता पोखरेल कोइराला (श्रध्दा)

अनिता (श्रध्दा) पोखरेल

मझौला कद सधैँ सेता सुकिला दौरा सुरुवाल टोपी कालो जवारीकोट र काला जुत्ता लगाएर गाउँवेशी होस् या वरपर हिड्दा सधैँ एक दुई जना मुख बोलाउ साथी लिएरै हिड्ने मेरा मुलघर बा (नन्दलाल पोखरेल) प्रायःजसो सबैले प्रख्यात ज्योतिषिको नामले चिन्दथे । उदयपुर जिल्लाको थामखर्कमा बसोबास गर्ने भएकोले होला कतिले त उहाँलाई “थामखर्के” को उपनाम पनि चिन्थे ।
थामखर्कमा मेरो घरबाट नजिकै उहाँको घरलाई  हामी सबै मूलघर भन्ने गथ्र्यौ । मेरा बुवा स्व. बद्रीनाथ पोखरेलका कान्छा काका भएकाले बुबाले वहाँ प्रति गर्नु भएको श्रध्दा हामी सबै परिवारले अनुशरण गरथ्र्यौ । सबैले असाध्यै मान्थ्यौँ । मेरा बुबासँग “मूलघर बा” को धेरै आत्मियता थियो । हरेक कुरामा बाले बुबाको भरोसा गर्नुहुन्थ्यो । बुबालाई पनि बा को बोली अकाट्य नै हुन्थ्यो । त्यस समयका बाका साथीहरु गैरीगाउँ मान बहादुर ठकुरी, ठानागाउँका तेज बहादुर ठकुरी, जतनपुर कुवेरनाथ जिम्बल, रुपाटारका भक्त बहादुर ठकुरी, निबुवाटारका भिमबहादुर राउत आदि हुनुहुन्थ्यो तर पनि पढि विश्वास मेरा बुबासँग भएर होला हाम्रो अति नजिक हुनु भो “मूलघर बा” । 

काँचो इटाले बनेको तिनतले घुमाउने घर, काठैकाठको धन्सार, अन्न राख्ने मनहरा, ठूली हजुरआमाको छुट्टै घर, गाईभैँसीका गोठहरु, वरपर बगैँचा जामुन, सुन्तलाका वोटहरु परैबाट मूलघर हामीलाई धेरै रमाईलो लाग्थ्यो । मैले जान्दा थाहा पाउँदा देखि सधैँ मूलघरमै रहेकोझैं  अनुभूत हुन्छ । मलाई आमाले राति राँको बालेर मूलघर पढ्न लैजानु हुुन्थ्यो । जहाँ हरदम  सरकारी जागिरे २/३ जना शिक्षक रहनुहुन्थ्यो । म काका फुपुहरु सँगै त्यो धनसारमा ठुलो मइन्टोलको उज्यालोमा वरीपरि बसेर पढ्थें । आमा त्यहीँ बसी रहनुहुन्थ्यो । पढ्ने काम सकेर फेरी राँको लिएर आमाछोरी फर्कन्थ्यौँ । फेरी विहान हुनासाथ मलाई  मूलघर गैहाल्नुपर्ने । घरमा आउने जो सुकै जतिबेला आए पनि चिया खुवाउनु बाको दैनिकी थियो । विहानै गएर बा नजिकै बस्थेँ । लौ नातिनी आई अटोमेटिक कप (स्टीलको कप) ल्याउ भन्नुहुन्थ्यो । अनि त्यो अगेनाको डिलमा सधैँ बसालिराखेको कित्लीबाट चिया दिनुहुन्थ्यो । खान्थेँ र पढ्न बस्थेँ । पढेका ठाउँमा वरपर गर्दै शिक्षकले पढाएको अनुगमन गर्नुहुन्थ्यो । हामीलाई पनि बाह्र राशी र सत्ताइस नक्षत्रका नाम दैनिक सुनाउन लगाउनु हुन्थ्यो । म सबै भन्दा छिटो सुनाउँथे । स्याबासी दिनुहुन्थ्यो अनि आमा बुबालाई पनि मेरो पढाइका बारे सुनाउनुहुन्थ्यो । सबैले पढुन भन्ने विचार थियो बाको । कहिलेकाँही त शिक्षकहरुलाई पनि विभिन्न गणितका प्रश्नहरु सोधेर नाजवाफ पारिदिनुहुन्थ्यो । 

ज्योतिषशास्त्रको असाध्यै ज्ञाता भएकोले जन्मपत्रिका (चिना) लेखाउन धेरै तिरका मानिसको घुँईचो लाग्थ्यो । कसैले जिज्ञासा राखेमा २/३ महिना त्यहीँ राखी सामान्य चिना टिपन लेख्न सक्ने बनाएर पठाउनुहुन्थ्यो । त्यसबेला त्यहाँ बस्नु हुने शिक्षकहरु मोहनबहादुर बुढाथोकी, रामेश्वर दाहाल, रामानन्द तिम्सिना, रामप्रसाद पोखरेल, ज्ञानिबहादुर महत आदि सरहरु अहिले सामान्य चिना टिपन लेख्ने उहाँकै चेलाहरु हुनुहुन्छ । मेरा समकक्षी काका पर्शुकाका, पशुपति काकालाई पनि सिकाउनुभयो  । म छेउमा बसेर सुन्थेँ । जुनवेला हामी कक्षा पाँचमा पढ्थ्यौँ । त्यसबेला नै  उहाँले  हामीलाई  सामान्य ज्योतिष ज्ञान सिकाइ सक्नुभएको थियो । 

गाउँमा अनिकाल परेका बेला  थुप्रै मानिसको ओइरो लाग्थ्यो मूलघरमा । सबैको खाँचो टारेर पठाइदिनुहुन्थ्यो बाले  । कसैले पैसा लैजान्थे त कसैले अन्न । आस्था राखेर आएका लाई रित्तो पठाउनु हुँदैन भन्ने मान्यता थियो बाको । आएका पाहुनालाई खुवाई सकेर मात्र आफू खाने उहाँको स्वभाव थियो । खाएपछि एकदुइ सय पाइला सधैं  हिँड्नुपर्छ भन्नुहुन्थ्यो हामीसँग । बाले भनेको हामी बुझ्दैनथ्यौँ, सम्झना छ । २०५३÷२०५४ साल तिरको कुरा हो म भर्खरै अस्थायी शिक्षकको नियुक्ती लिएर गाउँ गएकी थिएँ । बा सँग सबै पढाइका कुराहरुको र सानो जागिर खानुपर्ने बाध्यताका कुराहरु बेलिविस्तार लाउँदै थिएँ म । परबाट ७÷८ जना अपरिचित मानिस फुत्त एक्कासी घरमूनिको जंगलबाट निस्किए । म लगाएत बा हजुरामा सबै ट्वाल्ल हेरिरह्यौँ । सरासर आएर नमस्कार भन्दै बुइगल तिर चढे । म विद्यालय गएँ । हाजिर भएर आएँ । अनि बा लाई आएर सोधेँ । बा ले जवाफ दिनै चाहनु भएन । केहि दिन पछि हजुरआमाले भन्नु भयो । यिनीहरु राजनिति गर्ने मान्छे रे । यिनीहरुले गरिबलाई धनी बनाउँछन रे । आइरहन्छन् नानी यिनीहरु जस्ता अरु पनि । बस्दा खान दिन्छौ र जाँदा बा ले पैसा दिनुहुन्छ । अनि थाहा भयो भूमिगत बसेकाहरुलाई पनि आर्थिक सहयोग गर्ने हाम्रा बा को राजनितिमा पनि केही झुकाव थियो । ऋण माग्न आउने पनि कहिल्यै रित्तो फर्कनु पर्दैनथ्यो । यस्ता खुला हृदयका हाम्रा बा, हाम्रो अभिभावक सधैँ मेरो मानसपटलमा घुमिरहनुहुन्छ । 

सानै छँदा बुबाको मायाबाट मैले बन्चित हुनुप¥यो तर आमाले त्यो अभाव खट्किन दिनु भएन । आमा भन्ने गर्नुहुन्थ्यो – “कान्छा बाजेले भन्नु भाको तिमीलाई त खाँवामा बाँधेर राखे पनि यसले पढ्छे र सरकारी मान्छे हुन्छे” त्यसैले पढ्नुपर्छ भनेर पटक पटक सम्झाउनु हुन्थ्यो र धुलौटोमा डिकोले लेख्न सिकाउनु हुन्थ्यो । अनि ढिपी गरी गरी राँको बालेर मूलघर लैजानुहुन्थ्यो पढाउन । दिनहरु बित्दै गए । प्राथमिक तहको शिक्षा लिइसके, ठानागाउँमा सात कक्षा सम्म मात्र को विद्यालय थियो । अब कक्षा आठमा पढ्न सहज ठाउँ नभएको बेला फेरी अनुरोध गर्न बा को मा गएँ र अनुनय विनय गरे । बाले खर्च सबै म व्यहोर्छु भन्नुभयो र काकाहरु सँग गएर आदमारा बसेर रुपाटार विद्यालयमा पढ्न सुझाउनु भयो । मेरो खुशीको सिमा रहेन । मलाई हरवखत पढ्नमा प्रेरणा दिनुहुने मेरा मूलघर बा । अनि त्यसबेला बाले भन्नु भयो, राम्रोसँग पढ । मलाई यही ठूलो प्रेरणा मिल्यो । बाले भनेको शब्दले बेलाबेलामा झक्झकाइरहयो । मैले आफ्नो कामलाई निरन्तरता दिइरहेँ । शायद वहाकैँ सुझाव, सल्लाह र प्रेरणाले होला अहिले सानो सरकारी जागिरे हुनुमा हजुरबा नन्दलालको ठूलो प्रेरणा ठानेकी छु । उहाँको यस हौसलाले मलाई गाउँमा विद्यालय नभएपनि पढाइ रोकिएन । निरन्तरता दिइरहेँ । 

नन्दलाल बा देवीका असाध्यै भक्त हुनुहुन्थ्यो । विहानै उठेर भगवतीस्तोत्र, चण्डी, शनि मृत्युजय पाठ गर्दे गर्दे घरबाट अलिपर जालपादेवीको मन्दिर जानुहुन्थ्यो । त्यो मन्दिर हाम्रा जिजुहजुरबा राइटर कुलप्रसादले स्थापना गर्नुभएको थियो । त्यसस्थानमा गएर परिक्रमा गरेर घर आउनुहुन्थ्यो र मनतातो पानी पिएर मात्र चिया खाने उहाँको दिनचर्या थियो । आयुर्वेदमा समेत दखल विशेष राख्नुभएका बाले खयर लाई पनि चियापत्तिको रुपमा प्रयोग गर्नु हुन्थ्यो भने वेसी खेतमा पेलेको उखुको सखर राखेर चिया खानुहुन्थ्यो । यसरी प्राकृतिक कुरालाई बढावा दिनुहुन्थ्यो । दशैँमा घटस्थापनाका दिन देखि जमरा राखी पुरोहित घरमै राखेर दैनिक चण्डी पाठ गराएर अष्टमीको दिन कालरात्री गराइ नवमीको दिन नौ जना कन्यालाई आँगनमा राडीमाथी राखेर पुजा गरी गोडा धोएर नौकन्या पुजा गर्नुहुन्थ्यो । हामी सबै खुशीले गद्गद हुने । मातृका काकाले घर आउँदा ल्याउनु भएका नयाँ नोट र ओढाइ दिएका गम्छालाई धेरै पटक ओल्टाइपल्टाइ हेर्थ्यौं । अनि प्रसादी खाएर जान्थ्यौँ । मैले थाहा पाउने हुँदा देखि गरेको यो कार्य बा बाँचुन्जेल गरिरहनुभयो । अनि दशमीको दिन पुजा विसर्जन गरेपछि टीका लगाउने कार्य हुन्थ्यो ।   हामी पनि आफ्नो घरमा टीका नै नलगाइ मूलघर मै गएर लगाउँथ्यौँ । त्यसैले मूलघर प्रति मेरो अगाध आत्मीयता छ । मेरो मूलघर म हुर्के बढेको घर हो । खाइ खेली गरेको घर । अक्षर चिनेको घर । मेरा मूलघरे हजुर बा मलाइ पढ्न प्रेरणा दिनुहुने मेरा अविभावक हुनुहुन्थ्यो ।

म करिब १५ वर्ष पछि जन्मस्थल फर्के, मूलघरको संकेत सम्म अवशेष देखिन । तर बाले दैनिक दर्शन गर्ने जालपादेवीको स्थान जिर्ण रुपमा देख्दा आँशुका धाराहरु खसे । यसको मर्मत संम्भार गर्न सके पितृको र देवता दुवैको शक्ति सबैलाई प्राप्त हुने थियो । त्यसैले जालपादेवीको मन्दिर स्थापना गरेर पुर्खाको सम्पत्ति जगेर्ना गर्न सके उहाँको आत्मामा पनि शान्ति मिल्ने छ जस्तो लाग्यो । त्यसैले हरेक पल, हरेक दशैँमा बाको सम्झनाले खुबै सताउँछ । हाम्रो ठूलो अभिभावक, मेरा मार्गदर्शक, मेरा प्रेरणादायी हजुरबा, उहाँले बोलेको, पढाएको, जोड घटाउ सिकाएको सबै सबै कुरा दिमागमा सधैँ ताजा भएर आइरहन्छ । मेरो अग्रज, मेरा प्रेरणाको खानी, हामी सबैसबैका अभिभावक, हजुरको पक्कै वैकुण्ठमा बास भएको छ । हार्दिकहार्दिक श्रद्धान्जली अर्पण गर्दछु । 


त्रि.न.पा. १० उदयपुर गाईघाट
                                         फोन – ९८४२८७५६०३

No comments:

Post a Comment