Monday, June 8, 2020

थामखर्कदेखि गालटारसम्म - यादवप्रसाद पोखरेल

यादवप्रसाद पोखरेल 

म जन्मिएको  गाउँ 
धापपानी ।  ठानागाउँ तेर्सो बाटोमा पर्ने देउराली देखि तल कैँदलबोटे , त्यो भन्दा थोरै तल मेरो घर ।  उत्तर फर्केको पाटो भएकोले हिउँदमा केहि चिसो , ओसिलो र अबेला घाम लाग्ने भएकोले मनग्गे  ठण्डी  महशुस हुनेगर्थ्यो । घर मुन्तिर एउटा ठूलो ढुंगो थियो जुन जमीनको सतहसँग मिलेको भए झण्डै दुई मुरी धानको बिस्कुन सुक्थ्यो होला तर त्यो टेढो थियो । बिचमा खुकुरीको दाप जस्तो वारपार छिचोलिएको चिरा थियो । बेलाबेलामा त्यहाँ बाट गोहोरोहरु निस्कन्थे । अलि तल बाटै छेउमा सानो चौरी थियो । माथिल्लोपट्टि  छेउमा एउटा राम्रो खोपा आकारको ढुङ्गो  थियो । दुई जनासम्म केटाकेटी हरु टुक्रुक्क  बस्न सक्ने । हामी  त्यो खोपालाई देउलको घर भन्दथ्यौँ । खेल्दै जाँदा जो पहिले त्यहाँ पुगेर बस्छ आफुलाई देउता भएँ भन्ने गरिन्थ्यो  । त्यो भन्दा तल कान्ते दाईको घर थियो । उनका छोरा ध्रुब र काले मेरा साथी थिए । उत्तर तर्फ पारीपट्टि  धयनीडाँडा भन्ने गरिन्थ्यो ।  कान्ला परेको राम्रो बारी गह्रैगह्रा  माथी देखि तलसम्म फैलिएको जमीन थियो । तर त्यहाँको जग्गा  आबादी  थिएन । त्यसैले त्यहाँ सबैका गाई बाख्रा चर्थे । खेल्दै गर्दा घरीघरी आँखा सुनकोसीमा पुग्थे ।  पारी भुङ्जु लगायत दक्षिण महाभारत श्रृङ्खला फन्को मार्थे । महाभारत पारी पुग्न पाए त्यस भन्दा पर कस्तो ठाउँ होला भन्ने कौतुहलता पैदा हुन्थ्यो । एक पटक गिजिनचौरको ककनी दर्शन गर्न अभिभावकको साथ गाउँलेहरुसँग  मैले पनि यात्राको अनुमति पाएँ । मलाई सबैभन्दा बढी माया गर्ने देउराली कान्छा दाजु पनि सँगै थिए । हिड्नु भन्दा बढी मलाई बोक्ने काम उनै कान्छा दाजुले गरे । मलाई राम्रो सम्झना छ ।


धापपानीदेखि उत्तर दमाई खोला छ । त्यहीनै थियो हामी  सबैको पानीको श्रोत । नामले खोला भए पनि त्यो बास्तबिक खोल्सा थियो । त्यो देखि पारी च्यानडाँडा ,पड्केडाँडा नाम भएका जङ्गल  थिए । केरा बारीका मानिसहरु गीत  गाउँदै त्यसै  जङ्गलमा दाउरा घाँस लिन जान्थे ।  साँझमा फर्किदा एक भारी दाउराको कमाई हुन्थ्यो । त्यो जङ्गलको पारी पटी बासपानी भन्ने गाउँ थियो । बासपानीकै पाटो लमतन्न तेर्सिएको पोखरेल वंशको ऐतिहासिक थलो जतनपुर पर्थ्यो  । त्यो हाम्रा पुर्खा  नन्दीकेशरको  बिर्ता थियो । बिर्ता शब्द अहिले हराई सक्यो । तर पनि प्राय: दुख पाएकाहरुले पनि हाम्रो पुर्खाको बिर्ता हो भनि गर्व  गर्छन् । मैले नन्दीकेशर लाई पुर्खा शब्दले सम्बोधन गरेँ । हामीले  बोल्ने गरेका नाता सम्बोधनमा म समेत पाँचौ तह भन्दा माथी शब्द छैन । म, बाबु ,बाजे ,जिजु र बराजू  । त्यसैले नन्दीकेशर हाम्रा पुर्खा हुन् । उनै पुर्खाले आर्जेको बिर्ता हो जतनपुर । जतनपुरकै माटोले मेरा पुर्खालाई जन्मायो, हुर्कायो र पालनपोषण गर्‍याे । यहीँकै अन्नपानी र कन्दमूलले मेरा पुर्खा बाँचे । उनै नन्दीकेशरको बाह्रौँ  सन्तान मध्येको एउटा  म पनि हुँ ।

त्यसबेला सबैभन्दा बढी रमाईलो दशैँमा हुने गर्थ्यो  । जब दशैँ नजिकिंदै नवरात्र सुरु  हुन्थ्यो, देउराली बडाबा लामो लेग्रो तानेर जयदेबि भैरवी  गोरखनाथो भनेर मालश्री गाउनु हुन्थ्यो । हामी  भने खसी  काटेर मासु खाने दिन कहिले आउला भनेर दिन गन्थ्यौं । दुर्गापक्षको घटस्थापना देखि अन्तरे मुखियाको घरमा जमरा राखी  ब्राम्हण  पढाईन्थ्यो र दशैको बिधिवत प्रारम्भ हुन्थ्यो । सातौं दिन जातजातका फूलपातीहरु खोजेर ल्याउनका लागि ब्राम्हणहरुलाई पठाईन्थ्यो । सेतो सुकिलो धोती पहिरिएर तिन वा पाँच को संख्यामा ब्राम्हणहरु बिहानै प्रस्थान गर्थे र मध्यान्हतिर फूलपाती लिएर आउँथे । एक जनाको हातमा टिलिक्क टल्कने तरबार हुन्थ्यो । तरबार बोक्ने अगाडि हिँड्थे । प्राय: तरबार हातमा लिनेमा देउराली साइँला दाइ  हुन्थे । उनै साईला दाइको घर नजिकै उत्तरपट्टि  बाटो माथी  तुलसाको मोठको आकारमा लामो ढुंगा गाडिएको थियो ।त्यसैलाई देउराली भन्थे । त्यहाँ सम्म पन्चे बाजा बजाउँदै दशैं उत्सबका आयोजक तथा आउरेबाउरेहरु फूलपाती लाई स्वागत गर्न र लिन जान्थे । त्यहाँ बोका काटेर देउरालीको फेरो पुग्ने गरी भुइँ  रक्ताम्मे बनाउँदै बोकाको पछाडिको खुट्टा समाएर घुमाउँथे । साथै दुई , तीन नाल बन्दुक समेत पड्काएर बढाईं उत्सब गर्थे । बन्दुक पड्काउनेमा प्राय: डिल्लीबहादुर  ठकुरी हुन्थे । यो सब हेर्दा निकै रमाईलो लाग्थ्यो । अष्टमीमा कालरात्रि गर्ने र नवमीमा नौ कन्या पहिर्‍याउने परम्परा थियो । अन्तरे बाबुसाहेबको आँगनको बिचमा एउटा खम्बा गाडिएको थियो । जसलाई मौलो भनिन्थ्यो । त्यही मौलोमा नजिक राखेर राँगा बोका काटेर घुमाउँथे । यो जीवहत्याको संस्कृति उज्यालो र दीर्घायु त हुँदैन बरु संस्कार अन्धकारमा धकेलिन्छ । यो राजर्षी  संस्कृती कहिले सम्म कायम रहन्छ  समयलाईमात्र  थाहा छ । किनकि उक्त राजर्षी परिवार हाल अति दयनीय जीवन गुजारी रहेको भन्ने सुनिन्छ । समय भन्दा बलवान कोही पनि हुन सक्दैन । त्यस बेलाको त्यो रवाफ र त्यो ऐश्वर्य अनि वर्तमान जिवन भोगाई !! हिन्दीमा एउटा कहावत छ  - 'नसिवसे ज्यादा और समयसे आगे कुछ नहीँ मिलने वाला है ।'

यस्तै अर्को सम्झना खोप लगाउँदाको छ । प्रत्येक वर्ष काठमाण्डौबाट आएका बैध्यले बालबालिका हरुलाई खोप लगाउँथे । देब्रे हातको नारीमा तिखो सुईरोले औषधिमा चोपेर घोच्थे । छिरछिर रगत निस्केपछी छोडिदिन्थे । मनग्य दुख्थ्यो । खोपको छैठौं  दिनमा पुन जम्मा हुने भन्थे र बोका काटेर बरबखान गर्ने गर्थे । यो बरबखान बैध्य आफैले आफ्ना गुरु अथवा ईष्टदेवताको नाममा गर्दा रहेछन् । यो कार्य थामखर्कमा भएको थियो र त्यसबेला म पनि थामखर्क पुगेको थिएँ ।


आहालेको स्कूलमा पाटी बोकेर पढ्न जान्थें दमाई खोला पारी पट्टिको सेतो भिरको कमेरो माटोको मसि बाँसको कलम कमेरो माटो मगमग बासना आउँथ्यो शुक्रबारको बिध्यार्थीले थोरै चामल सक्खर लिएर सरस्वती पूजाको लागि स्कूल जानु पर्थ्यो   हामी  सरस्वती बन्दना गाउँथ्यौं पहिले मास्टरजीले गाउँथे , अनि पछि  हामी  गाउथ्यौं त्यस पछि  चामल सख्खर मुछेर हातहातमा प्रसाद खान दिन्थे हामी  हात चाटीचाटी  मिठो मानेर खान्थ्यौं हामीलाई पढाउने शिक्षक भारतीय मूलका थिए , तर राम्रो नेपाली  बोल्थे शिक्षकलाई मास्टरजी  भन्न उनैले सिकाए त्यसैले हामी  उनलाई मास्टरजी  भन्थ्यौं प्रार्थना गर्दा भारतीय राष्ट्रिय गान गाउन लाउँथे पहिला उनी  भन्थे, पछाडि हामी  भन्थ्यौं - “जन गण मन अधिनायक जय हे भारत  भाग्यबिधाता........”  त्यो समयमा शहरी सभ्यता भन्दा उतिपर पहाडको कुनामा राष्ट्र राष्ट्रियताको चेतना  कम मान्छेमा मात्र थियो होला अहिले भए किन अर्काको राष्ट्रिय गान गाईन्थ्यो होला ! नेपाली बजारमा छापाखाना थिएन नेपाली लेखक ज्यादै कम थिए नेपाली विद्वान हरु पनि भारतमै गएर हिन्दी  भाषामैं  पढ्नु पर्थ्यो   त्यसैले हामीलाई पनि हिन्दी भाषाकै किताब मास्टरजीले दिन्थे हामीले पैसा  तिर्नु पर्थ्यो   केही समय पछाडि उनि गए त्यस पछी रामपुर गहतेका लालबहादुर गिरीरामबहादुर गिरी त्यहाँ शिक्षक भएर गए त्यसपछी हामीलाई श्रीमान् गम्भिर नेपाली ....भन्दै राष्ट्रिय गान गाउँन सिकाए हामीलाई पढाउनेमा यी  दुई शिक्षक बाहेक भगवान ठकुरी ( ईश्वर ) , अमृतबहादुर ठकुरी कहिेलेकाहीँ देउराली कान्छा दाजु पनि हुन्थे बिध्यार्थीहरुमा भक्तबहादुर ठकुरी, अर्जुनठकुरी ,कैली कमिनी, अने कामी , डोरेन्द्र पोखरेल , खोलेखर्कका नारायणबहादुर भूजेल , लालबहादुर जर्घा, मिनप्रसाद तिम्सिना  यसैगरी थुम्कीका छत्रबहादुर राई , ज्ञानबहादुर राई, पूर्णबहादुर ठकुरी, बाबुराम पाखरेल लगायत भिरगाउँबाट पनि पढ्नका लागि आउँथे सो स्कूल हाल माध्यमिक विध्यालय  भएको   सो स्कूलको उत्तरोत्तर प्रगतिको कामना खोप लगाउन पहीलो पटक थामखर्क पुगेको थिएँ त्यहाँ नन्दलाल पोखरेलको घर थियो नाताले उहाँ मेरो बडाबा हुनुहुन्थ्यो यस अघि  उहाँ निकैपटक हाम्रो घर धापपानी आउनु भएको थियो उहाँ आर्थीक ,सामाजिक, एबं बौध्दीक क्षेत्रमा सम्पन्न हुनुको साथै ज्योतिष शास्त्रमा समेत निपुण  हुनुहुन्थ्यो उहाँका आर्थिक लगानी   आसामी हरु  धेरै थिए आसामी  उठाउँदै हिँड्दा बास बस्न वा बिहानको खानाको लागि कहिलेकाहिँ  हाम्रो घर धापपानी निस्कनुहुन्थ्यो हजुरआमाले भान्सा तयार पारेर दिनुहुन्थ्यो उहाँ ब्राम्णको मर्यादाले धोती फेरेर भान्साको चौकामा बस्नु हुन्थ्यो मूलखाँबोमा छेलिएर हेरि रहन्थें मेरो मनोकाङ्छा बुझेर बडाबाले थोरै भात समेतको थाल मतिर घँचेटी ला खा भनि दिनुहुन्थ्यो यो क्रम निकै पटक भयो यसरी मैले नन्दलाल पोखरेल बडाबाको जुठो धेरैपटक खाएको छु जुठो खाने सौभाग्य छोराले पाउँछ अन्यत्रले खाएको जुठो दुर्भाग्य  मात्र हो त्यसैले मैले  गालटारबाट उहाँलाई सम्झेर   यारीखोला पारीपट्टि कवासेटारमा बडा बा बृद्ध  जीवन गुजार्दै हुनुहुन्छ यसैबेला भेट्नु उपयुक्त हो भन्ने लाग्यो   कुनै दिन उहाँको अवसानको खबर सुन्नु पर्ला अनि परम्परा अनुसारको जुठो बार्नु पर्ला  जिबित रहुन्जेल हेर्न बोलाउन नजाने , अनि मृत्यु परान्त जुठो बार्नु स्वाङ् पार्नु हो जस्तै लाग्यो

थामखर्क नन्दलाल पोखरेल एक समान्य नाम मात्र थिएन उहाँ ज्योतिष बिध्याका प्रकाण्ड  विद्वान  हुनुहुन्थ्यो ब्यक्तिका चिना, जन्म कुण्डलीव्दारा पूरा भबिष्यबाणी गर्नुहुन्थ्यो उहाँका ज्योतिषीय भबिष्यवाणी  उनान्सय प्रतिशत सत्य साबित भएका छन् उहाँको ज्योतिष बिद्वताले  उहाँ बाँचेको समय  नेपालको पूर्वी  पहाडमा  पूरै रजाईं गर्यो भन्दा फरक नपर्ला

तत्काल राणा शासन सकिएर पंचायत  लागु भएको समयमा उहाले एउटा साहसिलो कार्य गर्नु भएर तमाम गरिव   पीडितब्राम्हणहरुको उध्दार गर्नु भएको थियो लगभग २०२१ /०२२ सालतिर होला त्यस ताका बाहुनले हलो जोत्नु हुदैन भन्ने थियो हलो जोतेमा बाहुनको जात जान्थ्यो जात गएको बाहुन कर्मकाण्डमा पूज्य हुदैनथ्यो कर्म काण्ड नजान्ने भए पनि बिबाह , बर्तबन्ध आदि  कार्य हरुमा भान्सामा चल्दैनथे यति भएपछी बाहुन लाई हुनसम्मकै पीडा हुन्थ्यो गरिब बाहुनहरु हली  राखेर जोताउन नसक्ने अबस्थाका भएकाले ठूलो साहस बटुलेर नन्दलाल बडाबा समक्ष आफ्नो पीडा पोख्न गए जाने मध्येमा हाम्रा ठुल्दाई होमनाथ पोखरेल पनि थिए बडाबाले सबैको पीडा सुनिसकेपछी बारीमा गोरु नार्न लगाएर हलो जोती दिनुभयो सबै गदगद् भएर -आफ्नो हलो कादालो आफैले समाए नन्दलाल पोखरेलको जात गयो भनेर उहाँ माथी धावा बोल्ने साहस कसैको थिएन  

उहाँको यस्तै अर्को क्रान्तीकारी प्रसङ्ग  पनि सुनेको थिएँ त्यो हो महीलाहरुमा हुने रजस्वला बर्तमान् ज्ञानबिज्ञानको युगमा पनि पश्चिम पहाडतिर रजवती महीलाले छाउ गोठमा बस्नु पर्छ कतिको छाउ गोठमैं   मृत्यु पनि  भएको अहिलेको एकाईसौं सताब्दीमा पनि नेपाली समाजको यो अभिशाप नन्दलाल पोखरेलले त्यसैबेलानै देखेर त्यागि सक्नुभएको थियो रजस्वलालाई उहाँ फूल फूलेको संज्ञा  दिनुहुन्थ्यो छुवाछुतका कुरा गरेर प्रकृतिलाई गिज्याउनु जस्तै हुन्छ भन्नुहुन्थ्यो उहाँको त्यस बेला राणाकालिन शासन ब्यबस्थामा अभिब्यक्त बिचारहरु अहिलेसम्म पनि मूल मुध्दाकै रुपमा छन् तर नेपाली समाजको गति उस्तै मन्द नै  
नन्दलाल पोखरेल कानूनविद्  हुनुहुन्थ्यो कस्तो अबस्थामा के के  गरेर आफू माथी परिन्छ आफ्ना बिरोधिहरुलाई तह लगाउन सकिन्छ भन्ने कुरामा उहाँको जुक्ति  बुद्धि  सधैँ सफल रह्यो । तीनताका डिट्ठा नयनध्वजको सामन्ती रवाफ  पुरै पूर्वी नेपालनै प्रभावित थियो । राणा परिवारसँग उनको पारिवारिक नाता सम्बन्ध पनि थियो । उनी  आफ्नै घरमा आफ्ना विरोधीहरूलाई नेल ठोकेर समेत राख्ने गर्थे । डिट्ठा नयनध्वज मालपोत बुझाउन  भोजपुर जाँदा भोजपुर अड्डाका हाकिम पनि  थरथरी हुन्थे भन्ने सुनिन्थ्यो । तर नन्दलाल पोखरेलको जुक्तिले केही समयका लागि भएपनि डिट्ठा नयनध्वजलाई कारागार पठाएर उनको अहंकार खच्काई दिनुभयो उहाँको चतुर्‍याईंको प्रशंसा गर्दै कृष्णचन्द्र पोखरेलले लेखेको पोखरेलको वंशावलीमा भनिएको -

कान्छा चाहिँ नन्दलाल हुन ती बाठा चतुरा अति 
मुद्दाले ठकुरी जिको गरिदिए धन्धान्यको धेर खति   
बाबु नै  रकमी प्रशिद्ध  अघिका थिए ति राईटर 
पारेथे  ठकुरीजीमा खलबली  केही नमानी डर  

उहाँका बारेमा संस्मरण लेख्न बस्दा मैले सुनें   सम्झे जति उपरोक्त कथन एवम्   परिघटनाहरु दिमागमा सलबलाउन थाले । त्यसबेला  मैले उहाँसँग  एकपटक भेट गर्न आवश्यक ठानें   २०६४ सालको जेष्ठमा कवासेटार पुगेँ सामाजिक मूल्य मान्यतामा आधारित अभिवादन गरेर आफ्नो परिचय दिएँ उहाँले हाम्रो घर, परिवार,  बुवा सबैलाई सम्झिनु भयो मेरो बुवा भारतीय  सैनिक भएको समेत स्मरण गर्नु भयो देवाली पुजामा मेरो बुवाले एकै हातले बोका छिनाएको प्रसङ्ग  समेत निकाल्नु भयो धापपानीको हाम्रो घर हामी  बस्नु भन्दा धेरै अघि उहाँकै रहेछ उक्त घर घडेरी आर्थिक समृद्धिको शुभ संकेतको रुपमा रहेको जानकारी उहाँले दिनुभएको थियो आफ्ना जीवनमा  व्यतित गरेका  तर मूल्यवान सम्झनाहरु मलाई बताउनु भयो दुई रात बसेर तेस्रो दिन बडाबासँग  बिदा मागेर हिड्ने प्रयत्न गरेँ - उहाँले भन्नु भयो ... "  भन्दा अघि तेरो बाबु बित्यो यस्तो बृद्ध भएँ अब तैंले  मलाई भेट्ने यत्तिकै  होला ।" जे होस, हाम्रो पोखरेल  वंशकै गौरव  बडाबासँग  बिदा भएर घर फर्किएँ ठिक दुई  बर्ष पछी २०६६  असार २४,२५ गते  तिर होला, उहाँको निधनको खबर आयो मैले सम्झें,  गत साल मलाई ठूलो संयोगले बडाबासँग  भेट हुने अवसर मिलेको रहेछ  धन्य त्यो समयलाई ! उहाँको निधन भएको पनि तेह्र वर्ष वितीसकेछ ।उहाँ पाखरेल मात्रको नभएर सिंगै समाजको आडभरोसा पनि हुनुहुन्थ्यो मैले पनि बडाबालाई उपरोक्त वाक्यहरुले सम्झिने अबसर पाएँ । बैकुण्ठवासी  बडाबा नन्दलाल पोखरेलप्रति फेरि पनि  हार्दीक श्रध्दान्जली अर्पण गर्दछु । उहाँको प्रेरणा सधैं  शिरोधार्य रहोस् ! 

000 


कटारी नगरपालिका वडानं - गालटार , उदयपुर 



No comments:

Post a Comment